काठमाडाैं – माओत्सेतुङ नेतृत्वमा जनवादी गणतन्त्र चीन स्थापनाको ७० वर्ष पूरा भएको छ । चीनले यो ७० वर्षको अवधिमा कम्युनिस्ट शासनलाई सफलतापूर्वक हाँकेको मात्रै छैन अभूतपूर्व विकास गर्दै विश्वको दोस्रो ठूलो आर्थिक महाशक्ति राष्ट्रका रूपमा उदाउन सफल भएको छ ।
सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीले च्याङकाई सेक नेतृत्वको सरकार, जापानी साम्राज्यसँगको पेचिलो लडाइसँगै दीर्घकालीन जनयुद्धको कार्यनीति अवलम्बन गर्दै विजयी प्राप्त गरी १ अक्टोबर, सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना भएको थियो । हामीले आजको चीनको वैभव देखेका छौं तर चीनमा यो वैभव ल्याउने रक्तपातपूर्ण क्रान्तिको विगत कम देखेका र बुझेका छौं ।
त्यसैले चीनको वर्तमान राज्य व्यवस्था, चिनियाँ जनवादी क्रान्ति र जनयुद्धसम्बन्धी विषयलाई बुझ्न माओ र चिनियाँ कम्युनिस्ट पार्टीले अलम्बन गरेका सिद्धान्त, नीति र कार्यक्रम बुझ्न आवश्यक छ । माओले चिनियाँ कम्युनिस्ट पार्टीको युद्ध इतिहास हामीले सोचेको जस्तो सरल छैन । उनले आफ्नै सेनाको निर्माण गरेर जनवादी गणतन्त्र चीन स्थापना गर्दा त्यहाँ ठूलो क्षति पनि भएको थियो ।
सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीले करिब ४ वर्षसम्म गति लिन सकेन । कोमिन्ताङको पहिलो राष्ट्रिय अधिवेशनसम्म आफूलाई प्रत्यक्ष रूपले युद्धको तयारीमा लगाउने कुराको महत्व बुझ्न, सैन्य बल गठन गर्नमा असफल भएको स्वयं माओले स्वीकार गरेका छन् ।सन् १९२४ देखि २७ सम्म पनि चिनियाँ कम्युनिस्ट पार्टीभित्र भीषण वैचारिक संघर्ष चल्यो ।
बुझाइको कमजोरीकैबीच वाम्पाओ सैनिक प्रतिष्ठानमा सहभागिताले चिनियाँ कम्युनिस्ट पार्टीमा सैन्य शक्तिको महŒव प्रस्टिन थाल्यो । क्वान्तुङ प्रान्तको युद्धमा कोमिन्ताङलाई सहयोग र उत्तरी अभियानमा सहभागी भएर चिनियाँ कम्युनिस्ट पार्टीले केही सशस्त्र बलमाथि नेतृत्व हासिल गर्न सफल भयो ।
त्यसपछि नानचाङ विद्रोह, शरद बाली विद्रोह र क्यान्टन विद्रोहजस्ता विद्रोहलाई संगठित गर्दै चिनियाँ लालसेनाको गठन भयो । जापानको तीव्र हस्तक्षेपका विरुद्ध पनि लड्नुपर्ने भएकाले चीनमा क्रान्ति गर्न सजिलो पटक्कै थिएन । याे समाचार राजधानी दैनिकमा छ ।




प्रतिक्रिया