काठमाण्डु- नेपाली कांग्रेससका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई भेट्न चुनदेवी पुग्ने गरेका नेता कार्यकर्तालाई पार्टीको आधिकारिकता आफूहरूले पाउने कुरामा ढुक्क हुन भन्ने गरेका छन्।
उनले चुनदेवीमा पुग्ने नेतादेखि कार्यकर्तासम्मलाई पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले निस्सा दिइसकेकाले आधिकारिकता आफ्नै हुने आश्वासन बाँडिरहेका छन्। ‘रुख र चारतारे झण्डा हामीलाई आउँछ, तिमीहरू चिन्ता नगर’, उनले नेता-कार्यकर्तामा उत्साह भर्दै भन्ने गरेका छन् ।
यसो भन्दा देउवामा अलग्गै किसिमको आत्मविश्वास देखिने गरेको उनलाई भेट्ने नेताहरू बताउँछन् । गत साता देउवालाई चुनदेवीमा भेटेका एकजना कांग्रेसका पूर्वपदाधिकारीले देउवाको आत्मविश्वास देखेर आफूहरू चकित पर्ने गरेको बताए ।
‘शेरबहादुर दाइमा बेजोड आत्मविश्वास देख्छु’, ती नेताले काठमाण्डुपाटीसँग भने, ‘रुख चिह्न र चारतारे झण्डा हाम्रो हुन्छ, हुन्छ’, ती नेताले भने। कसरी हुन्छ भन्ने प्रतिप्रश्न गर्ने नेता कार्यकर्ताहरूलाई आश्वस्त पार्दै देउवाले अर्को तर्क पनि गर्ने गरेका छन् ।
रास्वपा नेतृत्वको सरकारले आफूलाई दुई पटकसम्म इन्टरपोलमार्फत् ‘रेड नोटिस’ जारी गरेर नेपाल ल्याउन खोजेको प्रसंग सुनाइरहेका छन् देउवा ।
‘मलाई दुई पटकसम्म रेड नोटिस जारी गरेर यो सरकारले नेपाल ल्याउन खोजेको थियो । आफैं आउँदा किन पक्राउ गरेनन् ? किन स्कर्टिङ गर्न एयरपोर्टमा प्रहरीको गाडी पठाए, कुरा बुझ के कुरा’, देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने । सरकारले पूर्वप्रधानमन्त्रीको हैसियतमा अहिले पनि देउवाको सुरक्षामा प्रहरी खटाउँदै आएको छ ।
गत वर्ष २४ भदौमा जेन-जी आन्दोलनकारीले बुढानीलकण्ठस्थित घरमै घुसेर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि सांघातिक आक्रमण गरेका थिए । त्यसबेला देउवाको गर्धनमा गहिरो चोट लागेको थियो । काठमाण्डु र सिंगापुरमा लामो उपचारपछि अहिले उनी राजनीतिमा सक्रिय छन्।
गत वर्ष २१ फागुनको निर्वाचनको एक साताअघि फागुन १३ गते देउवा फलोअप उपचारका लागि भन्दै सिंगापुर उडेका थिए । तीन साता सिंगापुर बसेर उनी ७ चैतमा हङकङ गए । करिब ५ महिना हङकङमा बसेर गत २८ साउनमा स्वदेश फर्किए ।
नेपाल फर्किएकै दिनदेखि देउवाले कांग्रेसमा आफ्नो पूर्वसमूहलाई संगठित गर्न थाले । विमानस्थलबाट उनको समूहले स्थापना गरेको चुनवेदीस्थित सम्पर्क कार्यालय पुगेर स्वागतमा उपस्थित नेता कार्यकर्तालाई धन्यवाद दिए ।
नेपाल फर्किएकै दिनदेखि देउवा आन्तरिक राजनीतिमा सक्रिय छन् । कांग्रेस संस्थापक बीपी कोइराला पुत्र डा. शशांकलाई संयोजक तोकेर दउवा समूह महाधिवशेनको तयारीमा छ ।
देउवा समूहले आगामी २१ देखि २३ मंसिरसम्म १५औँ महाधिवेशन काठमाण्डुमा गर्ने घोषणा गरेको छ ।
१५ असोजदेखि वडा अधिवेशन सुरु गरेको सो समूहले १५ कात्तिकसम्म जिल्ला अधिवेश सकेको छ । गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधरले भने असोज १८ देखि २३ गतेसम्म १५औं महाधिवेशन गरिसकेको छ ।
कांग्रेस आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । सर्वोच्चले यसअघि विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको टिमलाई वैधता दिएको थियो ।
त्यसविरुद्ध देउवा र तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्का छुट्टाछुट्टै पुनरावलोकनको निवेदन लिएर सर्वोच्च गएका थिए ।
त्यसअघि गत वैशाखमा न्यायाधीशहरू शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय कानुनसम्मत ठहर गरेकोे थियो। तर सर्वोच्चले उक्त आफ्नो निर्णय पुनरावलोकन आदेश दिएपछि अहिले देउवा समूह उत्साहित छ।


प्रतिक्रिया