इमरान खान चीन उड्नुभन्दा पहिले किन पुगे पाकिस्तानी सेना प्रमुख बेइजिङ ?


काठमाडौं– पाकिस्तानी सेनाका प्रमुख जनरल ओमार जाभेद बाजवा चीन भम्रणको क्रममा बेइजिंङ पुगेका छन् । सेनाप्रमुख पाकिस्तानी प्रधानमन्त्री इमरान खान बेइजिंङ भ्रमणमा आउनुभन्दा केहीघण्टा अघि मात्र त्यहां पुगेका हुन् । उनले चिनियां जनमुक्ति सेनाका कमाण्डर जनरल हान वेईगु र केन्द्रिय सैन्य आयोगका उपाध्यक्ष सु कुईलियाङगसंग भेटवार्ता गरेका छन् ।

पाकिस्तान सेनाले दुवै सेनाका प्रमुखबीच कश्मिर मुद्दामा छलफल भएको जनाएको छ । पाकिस्तान सेनाको जनसम्र्पक निर्देशनालयले जारी गरेको विज्ञप्तीमा वैठकमा क्षेत्रीय सुरक्षाको अवस्था र पाकिस्तान र चीनबीचको रक्षा सहयोगको बारेमा चर्चा भएको जनाएको छ ।

पाकिस्तानी सेनाका प्रमुख बाजवाले कश्मिरको अवस्था बारेमा चिनियां सैनिक नेतृत्वलाई जानकारी गराउनुका साथै उनले भारतले कश्मिरी जनताको मानवअधिकारको हनन् नगरेको भन्दै भारतले संयुक्त राष्ट्रको प्रस्तावको सम्मान गर्नुपर्ने बताएका थिए । दुवै देशको सैनिक नेतृत्वले पाकिस्तान र भारतबीचको तनाव जारी रहे यो क्षेत्रको शान्ती र स्थिरतामा समेत गम्भिर प्रभाव पर्नेमा सहमत भएको पाकिस्तानी सेनाको दावी छ ।
वैठकमा खाडी मुलकमा विकसित भइरहेको अवस्था र अफगानिस्तानमा शान्तीको प्रयासबारे समेत छलफल भएको थियो । साथै दुवै पक्ष जारी रक्षा सहयोगलाई बढाउन समेत सहमत भएका छन् । पाकिस्तानी सेनाका प्रमुख बाजवाले चिनियां राष्ट्रपति सी जिनफिङ र प्रधानमन्त्री लि कछयाङसंग समेत भेटवार्ता गर्ने कार्यक्रम छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चीन भ्रमण भइरहेका बेला सेनाप्रमुखको बेइजिङ यात्रालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

पाकिस्तानी प्रधानमन्त्री खान र विदेशमन्त्री शाह मेहमुद कुरेसीबीच मतभिन्नता बढिरहेका बेला सेनाप्रमुखको एक्कासी चीन भ्रमण हुनु संयोग मात्र नभएको बताइन्छ । कुरेसीको पाकिस्तानको सैनिक नेतृत्वसंग समुधुर सम्बन्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement