काठमाडौं – नेपाल आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौधरीलाई तत्काल रिहा गर्न माग गरेको छ ।
गत शुक्रबार र शनिबार काठमाडौंमा सम्पन्न ‘प्रथम नेपाली आदिवासी जनजाति अन्तर्रा्ष्ट्रिय सम्मेलन’ले जारी गरेको आदिवासी जनजातिहरुको काठमाडौं घोषणा पत्र आईतबार सार्वजनिक गर्दै महासंघका अध्यक्ष जगत बरामले कैद भुक्तान गरिरहेका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद चौधरीको विना सर्त तत्काल रिहा नभए सरकार विरुद्ध आन्दोलन चर्काउने चेतावनी पनि दिए ।
उनले विश्वमा रहेका सबै नेपाली आदिवासी जनजातिहरुलाई पनि निर्वाचनमा मत हाल्न पाउने व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । अध्यक्ष बरामले सम्मेलनले संविधान संशोधन गरेर आदिवासी जनजातिहरुलाई पनि राज्यका सबै निकाय र तहमा समान प्रतिनिधित्व व्यवस्था गराउन पनि सरकारलाई दवाव दिएको बताए ।
सो घोषणा पत्रमा गोर्खा सैनिकमा भर्ती भएका सैनिकका सन्तानहरुलाई वंशजको आधारमा प्राप्त हुने नेपाली नागरिकतालाई पनि निरन्तरता दिन सरकारसँग आग्रह गरेको छ । त्यसैगरी घोषणा पत्रमा आदिवासी जनजाति संघ, संस्थाहरुमाथि हुने सबै प्रकारको विभेद अन्त्यका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमै एकजुट भएर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।




प्रतिक्रिया