आलम पक्राउ परेपछि रौतहटका पुराना मुद्धा ब्युँतिने, न्यायको आशामा पीडित

आलम पक्राउ परेपछि रौतहटका पुराना मुद्धा ब्युँतिने, न्यायको आशामा पीडित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राजपुर फरदहवा बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हाली मारेको घटनामा अनुसन्धान सुरु भएपछि रौतहटमा भएका अन्य व्यक्ति हत्याका घटनाप्रति पनि चासो सुरु भएको छ ।

राजनीतिक प्रतिशोध, लेनदेन, फिरौती र अन्य कारणले गोली हान्दै मान्छे मारिएका तर अनुसन्धान नटुंगिएका दर्जनौं घटनाको छानबिन ब्युँतिने आशा पीडित परिवारमा पलाउन थालेको खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटा, शिव पुरीले लेखेका छन् ।

राष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास बैरागीलाई गौर–८ स्थित जिल्ला अदालतअगाडि २०६८ असार २३ मा गोली प्रहार भएको थियो  । बजारबाट पान किनेर आफ्नो घरतर्फ जान हिँडेका उनीमाथि कसले र किन गोली प्रहार गर्‍यो, कसैले ठम्याउनै सकेनन् । स्थानीयले घाइते अवस्थामै उनलाई नजिकैको गौर अस्पतालमा पुर्‍याए तर ज्यान बचेन ।

आठौँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा रजत पदक पाएका उपेन्द्रले विभिन्न कुस्ती प्रतियोगितामा अब्बल क्षमता देखाएका थिए । उनले तत्कालीन राजा वीरेन्द्र शाहबाट गोरखा दक्षिणबाहुसमेत प्राप्त गरेका थिए । ख्याति प्राप्त खेलाडी भए पनि उनको हत्याको निष्पक्ष छानबिन र दोषी पत्ता लगाउने काममा सधैं अलमल भइरह्यो ।

एमालेनिकट रहेका उपेन्द्रको केही माओवादी कार्यकर्तासँग पहिलो संविधानसभा निर्वाचनको दिन वादविवाद भएको थियो । उनको हत्यालाई केहीले त्यही राजनीतिक विवादसँग पनि जोडेर हेरे । घटनाको नौ वर्ष बितिसक्दा पनि बैरागीको हत्या रहस्यमै छ ।

उपेन्द्रका जेठा दाइ राजेन्द्रको पनि २०६० पुस २० मा गोली हानी हत्या गरिएको थियो । माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा रहेका बेला तत्कालीन एमालेका समर्थक राजेन्द्रको हत्यालाई राजनीतिक प्रतिशोधका रूपमा हेरिएको थियो । राजेन्द्र हत्याको प्रश्न पनि अनुत्तरित नै रह्यो ।

तत्कालीन माओवादीको दशक लामो सशस्त्र द्वन्द्वका अन्तिम वर्षहरूमा मध्य मधेसको रौतहट हिंसाको केन्द्र जस्तै बनेको थियो । राजनीतिक प्रतिशोधमा हुने व्यक्ति हत्याका घटना नियमित आकस्मिकता जस्तै भए ।

त्यसै शृंखलाको एउटा घटना थियो, २०६३ चैत ७ मा गौरको राइस मिलमा भएको नरसंहार । उक्त घटनामा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए ।