काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाण्डुको कीर्तिपुर नगरपालिका–४ घर भएका २५ वर्षीय सुमित बस्नेत, भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बस्ने बैतडीको पुर्चौडी नगरपालिका–५ घर भएका ४८ वर्षीय जनक बहादुर कुँवर, काठमाण्डु महानगरपालिका–३२ बस्ने कैलालीको जानकी गाउँपालिका–६ घर भएकी २४ वर्षीया रञ्जिता कुमारी चौधरी, काठमाण्डु महानगरपालिका–३२ बस्ने सिराहाको सुखीपुर नगरपालिका–७ घर भएका ३२ वर्षीय सन्तोष साह, ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने चितवनको रत्ननगर नगरपालिका–२ घर भएका ३९ वर्षीय सिमा खान र काठमाण्डु महानगरपालिका–१४ बस्ने धादिङको थाक्रे गाउँपालिका–१० घर भएका ४० वर्षीय राज कुमार बास्कोटा रहेका छन् ।
पक्राउमध्ये सुमितले अमेरिका पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट २ करोड ८४ लाख रूपैयाँ, जनक बहादुरले जापान, पोर्चुगल, रोमानिया लगायतका देशहरू पठाइदिन्छु भन्दै १६ जना पीडितहरूबाट १० लाख ५० हजार रूपैयाँ, रञ्जिता कुमारीले नर्वे पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ, सन्तोषले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, सिमाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ र राज कुमारले इटाली पठाइदिन्छु भन्दै १ जना पीडितबाट १४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले सुमितलाई कीर्तिपुर नगरपालिका–४ बाट, रञ्जिता कुमारीलाई काठमाण्डु महानगरपालिका–४ बाट र सन्तोषलाई काठमाण्डु महानगरपालिका–३२ बाट बिहीबार तथा जनक बहादुरलाई काठमाण्डु महानगरपालिका–१२ बाट, सिमालाई ललितपुरको महालक्ष्मी नगरपालिका–४ बाट र राज कुमारलाई काठमाण्डु महानगरपालिका–१४ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।




प्रतिक्रिया