काठमाडाैँ—वैदेशिक राेजगारीकाे सिलसिलामा ओमनमा रहेका नेपाली कामदारलाई लक्षित गरी नेपाली राजदूतावास, मस्कटले एक श्रमिक सचेतना तथा साँगीतिक कार्यक्रम “परदेशमा घरदेश” आयोजना गरेकाे छ।
विदेशी भूमिमा रहेका श्रमिकहरूमा सकारात्मक सोचको विकास गर्न, उनीहरूलाई मानसिक तथा सामाजिक रूपमा एक्लो हुन नदिन तथा सम्भावित भवितव्य (आत्महत्या) र कुलतहरूबाट बच्न सहयोग पुर्याउने उद्देश्यले लुलु कम्पनीमा कार्यक्रम गरिएकाे दुतावासले जनाएकाे छ।
कार्यक्रम नेपालको इमल इभेन्टससँगको सहकार्यमा आयोजना गरिएको थियो। कार्यक्रममा नेपाली राजदूतावासका द्वितीय सचिव सोमेश थापाले उपस्थित सबैलाई स्वागत गर्दै गएको बडादशैं तथा आउँदो छठ पर्व तथा नेपाल सम्वत् ११४० को अवसरमा सबैलाई शुभकामना प्रदान गर्दै नेपाली राजदूतावास सबैको लागि अभिभावककोरूपमा रहेको जानकारी गराए।
कार्यक्रममा दूतावासकी श्रम सहचारी कृष्णाकुमारी गौलीले श्रमिकहरूले थाहा पाउनुपर्ने विविध पक्षहरू तथा नेपाली राजदूतावासले प्रदान गर्ने सेवा सम्बन्धी विविध जानकारीहरूको सम्बन्धमा आफ्नो प्रस्तुति दिइन्। बिष्णु दाहालले श्रमिकहरूलाई परदेशमा रहेर पनि आफूलाई कसरी बिरानो महसुस हुन नदिने तथा अन्य मनोबैज्ञानिक समस्या तथा निवारणका उपाय सम्बन्धी आफ्नो प्रस्तुति दिए।
कार्यक्रममा गायकद्वय सत्यराज आचार्य तथा स्वरूपराज आचार्यले विविध साँगीतिक प्रस्तुति मार्फत श्रमिकलाई मनोरञ्जन प्रदान गरे।




प्रतिक्रिया