चार दिने गोदावरी पुष्प मेला सम्पन्न, ७१ लाखको कारोबार

चार दिने गोदावरी पुष्प मेला सम्पन्न, ७१ लाखको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चार दिने गोदावरी पुष्प मेला सोमबार सम्पन्न भएको छ । नेपाल फ्लोरिकल्चर एशोसिएसन (फ्यान) को आयोजनामा गत सुक्रबारदेखि सुरु भएको मेलामा कविर ४० हजारले अवलोकन गरे भने ७१ लाख बराबरको पुष्प जन्य वस्तुको कारोबार भएको महासचिव विश्वमणी पोखरेलले बताए ।

चार दिने मेलाको अन्तिम दिन करिव ८ हजार ५ सय अवलोकन गरेको र १५ लाख बराबरको कारोबार भएको छ । मेला संयोजक शिव बहादुर खड्काका अनुसार पहिलो दिन ६ हजार ५ सयजनाले अवलोकन गरेका थिए भने १२ लाख रुपियाँको कारोवार भएको थियोे । त्यस्तै शनिवार १५ हजार जनाले अवलोकन गरेका थिए, जसमा २५ लाख रुपियाँ बाराबरको कारोबार भएको थियो भने आइतवार १० हजारले मेला अवलोकन गरेका थिए त्यसमा साढे १९ लाख रुपियाँको कारोबार भएको थियो ।

मेलामा अपेक्षा भन्दा बढीको अवलोकन र कारोबार भएकोमा आफूहरु थप उत्साहित भएको अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । “वर्षेनी उपभोक्ताले पुष्प क्षेत्रलाई माया गर्ने क्रम बढ्दो छ, हामी पनि उपभोक्ताको माग बमोजिम उत्पादन बजारमा ल्याउ कोसिसमा लागिरहेका छौं,” उनले भने । यो वर्षको गोदावरी मेलामा १६ नयाँ प्रजातिको फुलको समेत प्रदर्शनी गरिएको थियो । उपभोक्ताको घुइचो बढ्दा सनिबारको दिन जावलाखेल खेलमैदान भरिभराउ देखिन्थ्यो भने अरु दिनमा पनि उपभोक्ताको चाप बढेको थियो ।

आयोजकले यो वर्षको गोदावरी फुलको मेलामा ३५ हजारको अवलोकन र ५० लाखको कारोबारको अनुमान गरेका थिए । यो वर्षको मेलामा लक्ष्य भन्दा ५ हजार बढी अवलोकनकर्ता र २१ लाख बढी कारोबार भएको छ । यो वर्ष आयोजकले मेलामा पस्न टिकटको समेत व्यवस्था गरका थिए । टिकट काट्ने व्यवस्थाले मेला थप व्यवस्थित भएको एशोसिएनका पूर्व अध्यक्ष लोकनाथ गैरेले बताए ।

प्रदर्शनीमा व्यावसायिक स्टल ४४, सूचनामूलक ४ र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित कुल ४९ वटा स्टल थिए । मेलामा घरभित्र सजाउने फूल धेरैको रोजाईमा परेको छ । साना साना गमलामा रहेका आकर्षक फूलका बोटहरुको बारेमा जानकारी लिने र खरिद गर्ने बढी देखिएको छ । त्यसका साथै गमला तथा बगैचामा रोप्ने ठूला खालका फूल बोट पनि विक्रि वितरण भइरहेको व्यवसायी राजु तामाङले बताए । यसका साथै पुष्प क्षेत्रका अध्ययन अनुसन्धान गर्ने विद्यार्थी, वैज्ञानिक, प्रध्यापक लगायत सर्वसाधारणहरु फूलका बारेमा विभिन्न स्टलमा गएर जानकारी लिइरहेका छन् ।

मेला उद्घाटनको दिन प्mयानले मेलामा सहभागी उत्कृष्ट नर्सरीलाई पुरस्कृत गरेको थियो । सम्झना नर्सरीले विभिन्न विधामा ४ वटा पुरस्कार प्राप्त गरेको छ । गोदावरीको प्रतियोगितात्मक प्रदर्शनीमा सम्झना नर्सरी पहिलो, टिपीआर मितेरी नर्सरी दोस्रो र टिटिआर वंगलामुखी नर्सरीले तेस्रो भएका थिए । त्यस्तै मिनियचरतर्फ अजिमा नर्सरी र कट्फलावरतर्फ सिर्जना कट फ्लावर नर्सरी पुरस्कृत भएका थिए ।

नेपालमा २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसायले आ.ब. २०७५÷७६ सम्म आईपुग्दा सातसय भन्दा बढी पुष्प व्यवसायीहरु यस व्यावसायमा संलग्न रहेका छन् । यो व्यावसाय ४३ जिल्लामा विस्तार भएको छ । १५७ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको जानकारी गराउँदै उनले यस व्यावसायमा ४३ हजार पाँचसय भन्दा बढी जना प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेको जानकारी दिए । पुष्प मेलाको उद्घाटन कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले गरेका थिए ।

अबैध रुपमा पुल आयात रोक्न माग

फ्लोरिकल्चर एशोसिएन नेपाल (फ्यान) ले तिहारको मुखमा विदेशबाट अवैध रुपमा फुलको आयात भइरहेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएको छ । आत्मनिर्भरताका लागि कृषकहरुले वर्षेनी पुष्प खेति गर्ने क्रम बढ्दो रहेको तर व्यापारको सिजनमा अवैधरुपमा फुल भित्र्याएर सस्तोमा बेच्ने उद्देश्यले राजधानी भित्र्याइएको फ्यानले जनाएको छ ।

फ्यानले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै गैर पुष्प व्यवसायीहरुले विना विल विजक नै फुल भित्र्याएर राजधानीका विभिन्न कोल्ड स्टोरमा राखेको जनाएको छ । अवैध आयात रोकि नेपालका स्थानीय उत्पादन प्रवद्र्धनमा सहयोग गर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ । फ्यानले आन्तरिका राजस्व कार्यालय, क्वारेन्टाइन कार्यालय र स्थानीय प्रशासनलाई यस सम्बन्धि ध्यानाकर्षण गराएको जनाएको छ ।