काठमाडाैेँ—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
वैदेशिक रोजगारमा जान चाहने महिला तथा पुरुषलाई कतारलगायतका खाडी मुलुकमा ‘भिजिट भिसा’मा प्रस्थान अनुमति प्रदान गरी विचौलियालाई सघाउ पु-याएको अभियोग अख्तियारले मुद्दा दायर गरेकाे हाे।
त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीले कार्यालय समयमा रहेको अवस्थामा कम्प्युटरको नेटवर्क बन्द गरी शंकास्पद रुपमा दुई वटा मोबाइल फोनमार्फत लाइनमा रहेका महिला यात्रीलाई बोलाइ कागजातसमेत नहेरी प्रस्थान अनुमति दिएको आरोप छ ।
पराजुलीले प्रयोग गर्ने मोबाइल नम्बरको आधारमा प्राप्त हुन आएको ‘कल रेकर्ड’ तथा तथ्यहरु अध्ययन गर्दा उनले सोही कार्यालयमा कार्यरत अन्य अध्यागमन अधिकृतबीच ‘म्यासेज’ समेत आदानप्रदान गरेको र २४८ जनालाई प्रस्थान अनुमति दिने कार्यमा मिलेमतो गरेको पाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
खाडी मुलुकमा घरेलु कामदारलगायत पेशामा जान चाहनेलाई अध्यागमन अधिकृत पराजुलीसमेतका व्यक्तिले विचौलियाको ‘सेटिङ’मा प्रतिव्यक्ति १० हजार लिई अनुमति दिएको आयोगकाे दाबि छ।
आयोगका अनुसार त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृतहरु मनहरि बराल, शैलेन्द्र केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, जगदीशचन्द्र नेपाली, विजय सापकोटा, शैलेन्द्र ढकाल, पद्मप्रसाद बजगाईं, वीरसिंह भण्डारी, कम्प्युटर अपरेटरद्वय रोशन गौतम र भोजप्रसाद न्यौपानेसमेतले अध्यागमन प्रणालीमा अभिलेख नराखी २४८ जनाको प्रतिव्यक्ति १० हजारका दरले रु २४ लाख ८० हजार बराबरको रकम उठाएको पाइएको आयोगको आरोपमा उल्लेख छ ।




प्रतिक्रिया