काठमाडौं – डेढ महिनाअघि एसिड आक्रमणमा परेकी १४ वर्षीया बालिका मुस्कान खातुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेकी छन् । कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कानले उक्त चिठी मार्फत् आफू प्रधानमन्त्रीको ठाउँमा आफु भएको भए तेजाब प्रहार गर्नेहरूलाई फाँसी दिने बताएकी छन् । उनले उक्त चिठी सामाजिक सञ्जाल फेसबुकमा राखेकी छन् ।
यस्तो छ मुस्कानले प्रधानमन्त्रीलाई लेखेकी चिठीः
मिति: २०७६/८/५
माननीय प्रधानमन्त्रीज्यू,
म मुस्कान खातुन अन्सारी,
मेरो तर्फबाट नमस्ते । म एउटा तेजाब आक्रमणको नानी । हजुरलाई एउटा सानो चिठी । यो घटना मसँग घटिएको हो । यो घटनाको पीडा भनेको ठूलो घटना हो । पहिला जेनी खड्का र संगिता मगर तेजाब आक्रमण भए बेला कडा भन्दा कडा कानुन भइदिएको भए आज म यो अस्पतालको बेडमा हुन्थिनँ होला ।
प्रधानमन्त्रीज्यू हजुरको दुई तिहाई बहुमतको सरकार छ । हजुरको ठाउँमा म भइदिएको भए त्यो अपराधीलाई फाँसी दिन्थेँ । यसपालि ठूलोभन्दा ठूलो सजाय पाओस् ताकि म जस्तो एउटा बालिका या चेलीबेटी वा कसैमाथि तेजाब आक्रमण नहोस् । मैले जति पीडा खपेको छु, त्यो पीडा अरू कोही माथि पनि नहोस् । यो पीडा भनेको सानो पीडा होइन । एउटा देशकै ठूलो पीडा हो । आमा र बुवाको पीडा पनि धेरै ठूलो पीडा हो ।
यो पीडा कसैको आमाबुवाले खप्न नपरोस् । त्यो दोषीलाई यसपालि ठूलो सजाय होस् । मेरो हजुरसँग बिन्ती र अपेक्षा छ । हजुरसँग मेरो एउटा अनुरोध छ कि मेरो पीडा बुझिदिनु होस् । यो घटना कसैमाथि नहोस् र कोही पनि तेजाब आक्रमण भएको चेलिबेटी अस्पताल नआओस् भन्ने अनुरोध छ ।
धन्यवाद ।




प्रतिक्रिया