काठमाडौँपाटी संवाददाता
काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को परामर्शदाता छनोटको क्रममा मूल्यांकन प्रतिवेदनको मस्यौदा नेपाली सेनाकै अधिकारीहरूबाट चुहाइएको फेला परेको छ।
आयोजनाको सुपरिवेक्षण कार्यका लागि अन्तर्राष्ट्रियस्तरको परामर्शदाता छनोटको क्रममा मस्यौदा चुहावट भएको सम्बन्धमा सेनाले छानबिन थालेकोमा उक्त रहस्य पत्ता लागेको हो।
मस्यौदा चुहावट भएको पत्ता लागेपछि सैनिक सचिव विभागले आयोजना तत्कालीन प्रमुख उपरथी योगेन्द्र खाँणसहित ७ प्राविधिक मूल्यांकन बोर्डका सदस्यहरूलाई सचेत गराएको जंगीअड्डाले जनाएको छ। चुहावटबारे अध्ययन गर्न गठीत सेनाले कोर्ट अफ इन्क्वायरी बोर्डले मस्यौदा चुहावट भएको ठहर गरेपछि विभागले सचेत गराएको हो। सैनिक सचिव विभागले आयोजनाको विज्ञको रुपमा कार्यरत गैरसैनिकहरूलाई पनि सचेत गराएको छ। खाँणसहित ७ जना विरुद्ध प्रधानसेनापति र अख्तियार दुरूपयाेग अनुसन्धान आयोगमा उजुरी परेको थियो।
मन्त्रिपरिषद्को निर्णयबाट फास्ट ट्रयाक निर्माणको कामको जिम्मेवारी सेनालाई दिएपछि काम भइरहेको छ। पछिल्लो डीपीआर अनुसार फास्ट ट्रयाकको दूरी चार किलोमिटर घट्ने छ। यसअघि ७६.४ किलोमिटर दूरी रहेकामा हाल ७२.४ किलोमिटर कायम गर्ने जनाएको हो ।




प्रतिक्रिया