सम्बन्ध सुधार्दै ओली-नेपाल

सम्बन्ध सुधार्दै ओली-नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच सम्बन्ध सुधारको प्रयास भएको छ। प्रधानमन्त्री ओलीले मंगलबार सरकारी निवास बालुवाटारमै नेता नेपाललाई बोलाएर लामो समय कुराकानी गरी सम्बन्ध सुधारको प्रयास गरेका हुन्। भदौ ५ पछि दुवै नेताबीच एक्लाएक्लै भेटघाट भएको छैन। पार्टी अध्यक्षसमेत रहेका ओली र नेता नेपालबीच भेटघाट भएको नेता नेपालको सचिवालयले पुष्टि गरेको छ।

भेटघाटमा व्यक्ति सम्बन्ध पार्टीभित्रको उत्तारचढाव र दुई नेताहरूबीच पछिल्ला दिनमा भेटघाट नभएको विषयमा समेत कुराकानी भएको थियो। ‘बालुवाटारबाट फोन आएपछि उहाँ जानुभएको थियो तर के विषयमा कुराकानी भयो भन्नेबारे भने जानकारी भएन,’ नेपाल सचिवालयले भन्यो। नेपालनिकट नेताहरू र बालुवाटारले भने भेटघाटको विषयलाई बाहिर ल्याउन चाहेको छैन। भदौ ५ मा सचिवालय बैठकमै दुई नेताहरूबीच विवाद भएपछि त्यसयता एक्लै भेटघाट वा फोनमा समेत कुराकानी भएको थिएन।

प्रधानमन्त्री स्वास्थ्य उपचारमा सिंगापुर जाने बेला नेता नेपालले स्वास्थ्य लाभको शुभकामना दिँदा सो शुभकामना आवश्यक नभएको भन्दै ओलीले स्वास्थ्यलाभको शुभकामना नै अस्वीकार गरेपछि दुई नेताहरूबीचको सम्बन्ध चिसिएको थियो। दुईै नेताहरूबीच सम्बन्ध चिसिएपछि औपचारिक बैठकमा बाहेक ओली–नेपाल भेटघाट बन्द भएको थियो। भेटमा पनि दुई नेताहरू खास खुलेर बोल्ने गरेका थिएनन्। मंगलबारको भेटमा दुवै नेताले आ–आफ्ना कमीकमजोरीबारे कुराकानी गरेको हुन सक्ने बताइएको छ। मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेका बेला दुवै नेताहरूबीच भएको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ। याे समाचार नागरिक दैनिकमा छ ।