काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुने ऊर्जा क्षेत्रमा लगानी गर्न आह्वान गर्दै बजारको ग्यारेन्टि सरकारले लिने दाबी गरेका छन् ।
६० मेघावाटको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको उद्घाटन गर्दै मन्त्री पुनले ऊर्जा क्षेत्रको बजार नियमित र व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
पछिल्लो समय विद्युत उत्पादन बढेपनि बजार नभएको भन्ने समाचारको खण्डन गर्दै मन्त्री पुनले भने, ‘बजारको सरकारले ग्यारेन्टि गर्दछ । ऊर्जा क्षेत्रमा सबैले लगानी गर्नूस् ।’
मन्त्री पुनले ढिला भएका परियोजनालाई ऊर्जा उत्पादनका समयमै सम्पन्न गराउनका लागि आवश्यक योजना बनाएको उल्लेख गरे । साथै उनले पूरा नभएका आयोजनाका कामहरु आफ्नै पालामा पूरा गर्ने प्रतिबद्धता पनि जाहेर गरे ।
मन्त्री पुनले अर्को हप्ता कुलेखानी जलविद्युत आयोजनाको पनि उद्घाटन हुने पनि बताए । नेपाल विद्युत उत्पादनमा आत्मनिर्भर भइसकेको भन्दै मन्त्ती पुनले अब निर्यातमा ध्यान दिनपर्ने बेला आएको सम्बोधनको क्रममा बताए ।
मन्त्री पुनले कुनै पनि परियोजनालाई बेलैमा सम्पन्न गराउनका लागि हरेक क्षेत्रका जनप्रतिनिधिहरुको भूमिका हुने भन्दै संविधानले नै प्रकृतिक स्रोतमा स्थानीय जनताको अग्रअधिकार ग्यारेन्टि गरेको उल्लेख गरे । साथै उनले स्थानीय सरकारका जनप्रतिनिधिहरुलाई सरकारले अघि बढाएको परियोजनामा सहयोग गर्न अपील गरे ।
मन्त्री पुनले त्रिशुली करिडोरमा धेरै परियोजना रहेको भन्दै स्थानीयले गरेको सहयोगको प्रशंसा गरेका थिए ।
त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लथ्य पूरा गर्नका लागि विद्युत क्षेत्रको योगदान रहेको भन्दै प्रशंसा गरे ।
विद्युत क्षेत्रको विकासका लागि अर्थ मन्त्रालयले सहयोग गरिरहेको बताउँदै अबका दिनमा पनि कुनै कसुर बाँकी नराखि सहयोग गर्नका लागि मन्त्रालय र आफू तयार रहेको जानकारी दिए । विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले पनि सम्बाेधन गरेका थिए ।
नुवाकोट र रसुवामा निर्माण भएको उक्त आयोजना प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट, उर्जामन्त्री पुन र अर्थमन्त्री डा. युवराज खतिवडाले नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेमा रहेको आयोजनास्थलबाट संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटनसंगै व्यावसायिक रूपमा आयोजनाबाट ६० मेगावाट विद्युत् उत्पादन सुरु भएको छ । माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको पहिलो र दोस्रो युनिट (३०–३० मेगावाट) बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो ।
आयोजनाबाट उत्पादित विद्युत् किस्पाङ ५ सिम्ले स्थित स्विचयार्डबाट ४८ किलोमिटर प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा ल्याएर राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।
नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरणको लगानी र चिनियाँ सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण भएको आयोजनाको अनुमानित लागत १४ अर्ब ४३ करोड रुपैयाँ (निर्माण अवधिको व्याजबाहेक) रहेको छ ।
निर्माण अवधिको २ अर्ब ८९ करोड व्याजसहित १७ अर्ब ३२ करोड रुपैयाँमा आयोजना निर्माण सम्पन्न भएको छ । चिनियाँ एक्जिम बैंकको १२ करोड ५८ लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी प्रवाह भएको यो आयोजना इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा निर्माण भएको हो ।












प्रतिक्रिया