आसामको वेश्यालयबाट चार बालिकासहित ७ किशोरीको उद्धार, यौन धन्दामा लगाउने रश्मी पक्राउ


काठमाडौं – भारतको आसामस्थित एक बेश्यालयबाट सातजना नेपालीको उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको समन्वयमा त्यहाँको प्रहरीले लेन १४ को नामबाट चर्चित सिल्चारको एक कुख्यात बेश्यालयबाट चार जना बालिकासहित उनीहरुको उद्धार गरेको हो ।

सिल्चारको सो बेश्यालयमा नेपाली युवती र किशोरीहरुलाई जबरजस्ती यौन धन्दामा लगाइएको सूचना पुष्टि भएपछि नेपालबाट मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूह गत आइतबार कछार पुलिससहितको एउटा टोली आसाम पुगेको हो । उद्दार गरिएकामध्ये तीन जना २० वर्ष मुनिका रहेको र चार जना बालिकाहरु रहेको शक्ति समूहका कानुनी सल्लाहकार दिलिप कोइरालाले जानकारी दिए ।

गत जुलाइमा एकजना नेपाली किशोरीको सोही ठाउँबाट उद्धार गरिएको थियो । उनकै सूचनाका आधारमा त्यहाँ अरु धेरै नेपाली किशोरी र युवतीलाई यौनकार्यमा लगाइएको पुष्टि भएपछि शक्ति समूहको सात जनाको टोली आसाम पुगेको हो । ती युवती र किशोरीलाई बेश्यालयसम्म लैजाने र जबरजस्ती यौन धन्दामा लगाउने लक्ष्मी तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उद्धार गरिएकाहरुलाई आजै त्यहाँको स्थानीय अदालतमा उपस्थित गराउने र कानुनी प्रक्रिया पूरा गरी स्वदेश फर्काउने पहल भइरहेको कोइरालाले जानकारी दिए । कानुनी सल्लाहकार कोइरालाले दिल्लीस्थित दूतावासलाई जानकारी दिएर उद्धार गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement