मस्कट – नेपाली राजदूतवास मस्कटका राजदूत सर्मिला पराजुली ढकालले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन आग्रह गरेकी छन् ।
मस्कटमा भएको ‘नेपाल भ्रमण वर्ष २०२०’ को अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदूत पराजुलीले खाडि क्षेत्रमा रहेका नेपाली समुदायले भ्रमण वर्ष सफल बनाउनका लागि मुख्य भूमिका खेल्ने बताएकी हुन् ।
राजदूत पराजुलीले ‘नेपाल भ्रमण वर्ष २०२०’ को सचिवालयले गैरआवासीय नेपाली संघसँग भ्रमण वर्ष सफल बनाउने समझदारी पत्रमा हस्ताक्षर गरिसकेको सन्दर्भमा यसको प्रवर्द्धनका लागि गैरआवासीय नेपालीहरुको महत्त्वपूर्ण योगदान रहनु पर्ने बताइन् ।
कार्यक्रममा सहभागी गैरआवासीय नेपाली समुदाय लगायत उपस्थितहरुले भ्रमण वर्षको कार्यक्रमको सम्बन्धमा आफ्ना सुझावहरूसहित सफलताका लागि आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रम नेपाल भ्रमण वर्ष २०२० को सचिवालय तथा नेपाली राजदूतावास मस्कटले आयोजना गरेको हो ।
अल–फलाज होटल मस्कटमा आयोजित उक्त कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयका उप–सचिव राजन पौडेलले भ्रमण वर्षका सम्बन्धमा भए गरेका काम कारवाहीहरू, तयारीहरू, भ्रमण वर्षको लक्ष्य , उद्देश्यका साथै ब्राण्डिङ्ग गाइडलाइनका विषयमा आफ्नो भनाई राखेका थिए ।
उक्त कार्यक्रममा नेपाल भ्रमण वर्ष सचिवालयका अन्य कर्मचारीहरू, नेपाली राजदूतावास मस्कटका कर्मचारीहरू लगायत ओमानस्थित नेपालीहरू सहित गरी करिब १०० जनाको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया