जेलमा आन्दोलन गर्ने दुई जना महिला कैदीको सरुवा

जेलमा आन्दोलन गर्ने दुई जना महिला कैदीको सरुवा


बाँके – नेपालजञ्जमा रहेको जिल्ला कारागार, बाँकेमा रहेका दुई महिला कैदी सरुवा भएका छन् । कारागारका चौकीदारले गुणस्तरहीन खाना खुवाएको लगायत आरोप लगाउँदै कैदीबन्दी आन्दोलनमा उत्रिएपछि आन्दोलनका मुख्य नाइके भनिएका भगवती राना र प्रेमा चन्दलाई अन्यत्र सरुवा गरिएको हो ।

रानालाई नवलपरासी र चन्दलाई पाल्पामा शुक्रबार बेलुका सरुवा गरिएको निमित्त जेलर दीपेन्द्र पौडेलले जानकारी दिए । शुक्रबार बिहानैदेखि आन्दोलित कारागारका महिला कैदीले चौकीदार फेरबदल गर्नुपर्ने लगायतका माग गरेका थिए । दिनभर तनावग्रस्त रहेको कारागारमा शुक्रबार बेलुका कारागार प्रशासनले चौकीदार ललिता रेग्मीमाथि अनुसन्धान गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलन रोकिएको पौडेलले बताए ।

यसैवीच, कारागार प्रशासनले कैदीबन्दीले उठाएको मागलाई सम्बोधन गर्न रेग्मीमाथि छानविन सुरु गरेको बताएको छ । महिला कैदीले चौकीदार रेग्मीले आफूहरुमाथि रुखो व्यवहार गरेको, गुणस्तरहीन खाना खुवाएको लगायतका आरोप लगाएका छन् । गत कात्तिक १४ मा पुरुष कैदीबन्दीले आन्दोलन गरेपछि जेलर भरतराज पाण्डे, चौकीदार भरत फडेरा लगायतको सरुवा भएको थियो । त्यसयता कारागार प्रमुखविहीन छ ।