काठमाडौं– राष्ट्रपति विधादेवी भण्डारीले नेकपाका आधा दर्जन नेताहरुसंग छलफल गरेकी छन् । नेकपाको स्थायी कमिटी बैठक जारी रहेको बेला राष्ट्रपति भण्डारीले नेताहरुसंग लन्च बैठक गरेकी हुन् । स्थायी समितिको जारी बैठकमा शनिवार अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले बोल्ने दिन नै नेताहरु शितल निवास गएपछि बैठकमा हंगामा भएको थियो ।
नेकपाका स्थायी समिति सदस्यहरु शंकर पोखरेल, प्रदीप ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र जनार्दन शर्मा लन्च मिटिङ्गमा सहभागी थिए ।
नेताहरु बैठकमा ढिला पुगेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालले नेताहरूसंग स्पष्टीकरण मागेका थिए। जवाफमा नेताहरुले पुर्वनिर्धारित कार्यक्रम भएकाले बैठकमा उपस्थित हुन नसकेको जवाफ दिएका थिए ।
बैठक चलिरहेकै बेला नेताहरु राष्ट्रपति निवास पुगेको थाहा भएपछि बैठकमा स्थायी कमिटी सदस्य भीम रावलले आपत्ति जनाएका थिए । उनले बैठकमा राष्ट्रपतिको अधिकार संविधानले स्पष्ट पारेकाले त्यही अनुसारको मर्यादामा बस्नुपर्ने धारणा राखेका थिए । रावलले यसअघि दुवै अध्यक्षको बैठक राष्ट्रपति निवासमा भएकोमा पनि विरोध जनाएका थिए । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षिय नेतृ अष्टलक्ष्मी शाक्यले पनि विरोध जनाएकी थिईन ।राष्ट्रपति भण्डारीले नेताहरुसंग समसामयिक परिस्थतीको बारेमा छलफल गरेको नेताहरुले बताएका छन् ।




प्रतिक्रिया