एमसीसीलाई चाहेर पनि कसैले रोक्न सक्दैन : मन्त्री बाँस्कोटा

एमसीसीलाई चाहेर पनि कसैले रोक्न सक्दैन : मन्त्री बाँस्कोटा


डडेलधुरा – सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ संसदबाट पास हुने दावी गरेका छन् ।

अमरगढी नगरपालिकाले आयोजना गरेको ‘गुम्न जाउँ अमरगढी’ अन्तर्गत भ्रमण वर्ष २०२० को उद्घाटन गर्न डडेल्धुरा सदरमुकाम पुगेका मन्त्री बाँस्कोटाले एमसीसीलाई राजनीतिक मुद्धा बनाउन नहुने बताउँदै एमसीसी सम्झौता संसदबाटै पारित हुने बताए । ‘कसैले चाहेर पनि अब एमसीसी फेल हुदैँन । सरकारले संसदमा पेश गर्छ, सिधै पास हुन्छ ।’

एमसीसीको सबै सूचकांक पार गरेर सन् २०११ को डिसेम्बरमा नेपाल ‘क्वालिफाइड’ भएको उनले बताए । एमसीसी र ‘इन्डो प्यासिफिक’बीच कुनै अन्तरसम्बन्ध नरहेको जिकिर गर्दै उनले भने, ‘यी दुवै विषयलाई मिसाएर विवाद गरेर भ्रम सिर्जना गर्न खोजिएको छ ।’

मन्त्री बाँस्कोटाले लिपुलेक, लिम्पियाधुरा नेपालकै भएको दावी गर्दै उनले विगतका तथ्यमाथि छानबिन हुने र लिम्पियाधुराको विवाद पनि साम्य हुने विश्वास व्यक्त गरे ।