काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संसदीय समितिबाट बहुमतले पारित भएको सूचना तथा प्रविधिसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा सत्यलाई छोपेर अनावश्यक हल्ला चलाएकोमा आपत्ति जनाएका छन् ।
बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा उनले सूचना प्रविधि विधेयकमा धेरै राम्रा प्रावधान हुँदाहुँदै पनि सत्यलाई ढाकछोप गरेर गलत प्रचार गरिएको बताएका छन् । उनले भने, ‘कानुन सबैका लागि बराबर हो । विधेयकले सामाजिक सञ्जालमा लेखेवापत कारबाही गर्नेमात्र भनिएको छैन कि त्यसमा के लेख्यो त्यसका आधारमा कारबाही गर्ने भनिएको छ । यहाँ त सामाजिक सञ्जाल चलाउँदै सरकारले कारबाही गर्ने भन्ने हल्ला चलाइएको छ ।’
‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’ भन्दै उनले नेपाली कांग्रेसका नेता गगन थापालाई लक्षित गर्दै भने, ‘केही दिनअघि भिडियो सन्देश जारी गर्ने मान्छेले सामाजिक हैसियत र पहुँचकै आधारमा काठमाडौं बाहिरको मान्छेलाई काठमाडौं ल्याएर उठबस गराएको धेरै भएको छैन । त्यो बेला कानुन बनेको पनि थिएन ।’ नेता थापाले समितिबाट विधेयक पारित भएपछि त्यसको विरोध गर्दै भिडियो सन्देश जारी गरेका थिए ।
मन्त्री बास्कोटाले नियतहरुसँग लड्न नसकिने उल्लेख गर्दै नेपालमा दिनानुदिन सामाजिक सञ्जाल प्रयोगकर्ता पनि सयंम र मर्या्दित हुनुपर्ने बताएका छन् । उनले भने, ‘सामाजिक सञ्जाल चलाउने सबैले दर्ता गर्नु पर्दैन । कोही पनि नेताहरुले बोल्दा कानुनी प्रबन्ध के छ त्यसको आधारमा बोल्नुपर्छ । सामाजिक सञ्जालमा लेख्नु अपराध होइन । धारा ८८ को उपधारा १ मा कस्ता कुराको प्रचार गरेमा कारबाही हुन्छ भन्ने उल्लेख गरेको छ । सार्वभौमसत्ताविरुद्ध, जातिय विभेदलाई बढावा दिने कुरा लेखेमा कारबाही हुन्छ ।’
उनले केही पत्रकारले आफूलाई आफ्नो निजी जीवनलाई नै प्रभावित गर्ने गरी सामाजिक सञ्जालमा लेखेकोप्रति आपत्ति जनाए । उनले भने, ‘हामीले कुन सभ्यता र स्वतन्त्रताको रिहर्सल नागरिक स्वतन्त्रताको कुरा गर्न खोज्दैछौं । बोल्न नमिल्ने शब्दहरु राखेर सामाजिक अपराधिकरण गर्न त मिल्दैन नी । त्यहाँ पनि दण्ड जरिवाना हुन्छ । राजनीतिक विरोध हुनुपर्यो । तथ्यपरक विरोध हुनुपर्छ । सरोकार नभएका निजी जीवनका व्यक्तिलाई जोडेर स्वतन्त्रताको बहस गर्नु उचित होइन ।’
सूचना प्रविधि विधेयक डिजिटल हस्ताक्षर, साइबर सुरक्षा र विद्युतीय माध्यमबाट हुने हिंसा नियन्त्रण गर्नतर्फ पनि लक्षित भए पनि यसतर्फका बहस नभएको उनले बताए ।




प्रतिक्रिया