कालापानीबाट भारतीय सेना हटाउने

कालापानीबाट भारतीय सेना हटाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभाले भारतले अतिक्रमण गरेको नेपाली भूमि रक्षा र कालापानीबाट भारतीय सेना हटाउने संकल्प गरेको छ। सीमा विवादमा कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहल गर्न सभाले सरकारलाई निर्देश गरेको छ।

नेपाली भूभाग अक्षुण्ण राख्न, भारतबाट अतिक्रमित भूमि फिर्ता गर्न र कालापानीबाट भारतीय सेना हटाउन बैठकले बिहीबार सर्वसम्मत संकल्प प्रस्ताव पारित गरेको हो। नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईको संकल्प प्रस्तावलाई कांग्रेस सचेतक सरिता प्रसाईले समर्थन जनाएकी थिइन्। ‘सीमासम्बन्धी विषयमा उच्चस्तरको अभूतपूर्व एकता कायम रहेको सन्दर्भमा सशक्त ढंगले कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहलकदमी गरी नेपालको भूभाग अक्षुण्ण राख्ने र कालापानी क्षेत्रबाट वर्षौदेखि रहँदै आएका भारतीय सेना हटाउन राष्ट्रको आवाज एकताबद्ध बनाउन यो संकल्प प्रस्ताव प्रस्तुत गर्दछौं,’ प्रस्तावमा छ।

लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका नेपाली भूमि समेटेर भारतले नक्सा सार्वजनिक गरेकोमा सभाले आपत्ति जनाएको छ। ‘हाम्रो देशको अविभाज्य भूमिलाई समेटेर भारतले नक्सा सार्वजनिक गरेको सन्दर्भमा नेपाल सरकारको पहलमा सर्वदलीय बैठक आयोजना भई सम्पूर्ण राजनीतिक दलबाट नेपालको उक्त भूभाग र सो भूभागमा रहेका भारतीय सेना फिर्ता गरी नेपाली सीमाको रक्षा गर्न दृढ राष्ट्रिय अडान कायम भइसकेको छ,’ संकल्पमा छ। यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।