काठमाडौं – नेपालको सहरी क्षेत्रमा पछिल्लो समय अनौठो प्रजातिको कमिला देखिएको छ। रातो कमिलाजस्तै देखिने यो यहाँको भने होइन। यस्तो कमिला कहाँबाट कसरी नेपाल प्रवेश गर्यो भन्ने जानकारी कसैलाई छैन। यो कमिला केही समयअघि मात्र नेपाल प्रवेश गरेको नेपाल जडिबुटी उत्पादक संघका अध्यक्ष गोविन्द घिमिरेले बताए।
नेपालमा दुई किसिमका कमिला छन्। एउटा वनस्पतिलाई नोक्सान नगर्ने र अर्को नोक्सान गर्ने। नयाँ कमिलाले वनस्पतिलाई नोक्सान गरिरहेको घिमिरे बताउँछन्। ‘यो कमिला सहरी क्षेत्रका पक्की घरमा मात्र देखिएको छ। भर्खरै नेपाल भित्रिएका कारण गाउँसम्म पुग्न नसकेको हुन सक्छ’, उनी भन्छन्, ‘वनस्पतिका लागि यो खतरापूर्ण छ। यसले सागपातलगायतका वनस्पति नोक्सान गरिरहेको हामीले भेट्टाएका छौं।’
विदेशबाट भित्रिने काठसँगै कमिला पनि नेपालसम्म आइपुगेको हुन सक्ने अध्यक्ष घिमिरेको अनुमान छ। उनका अनुसार विभिन्न देशबाट आउने काठको प्रयोग सहरी क्षेत्रमा हुनु र यो कमिला सबैभन्दा पहिले सहरी क्षेत्रमा देखिनुले पनि काठकै माध्यमबाट आइपुगेको हुन सक्छ।
अहिले नेपालमा मलेसिया, इन्डोनेसिया, चीन, भियतनामलगायतका विभिन्न देशबाट दुई प्रकारका साल र कुकाठ (नरम काठ) भित्रिने गरेका छन्। यिनै काठमा नेपालले गर्नुपर्ने अत्यावश्यक परीक्षण हुँदैन। यसबाट नेपालमा वातावरणीय जोखिम बढिरहेको जानकार बताउँछन्। यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।




प्रतिक्रिया