काठमाडौं – प्रदेशसभा बैठकले प्रदेश ३ को नाम बागमती राख्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । कांग्रेस संसदीय दलका नेता सांसद इन्द्र बानियाँले प्रदेशको नाम बागमती राख्न राखेको प्रस्ताव आइतबार बसेको प्रदेशसभा बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।
समर्थकहरुमा नेकपा प्रदेश संसदीय दलका मुख्य सचेतक रामेश्वर फुयाँल, राप्रपाकी रीता माझी, राप्रपा संयुक्तकी रीना गुरुङ, विवेकशील साझाका रमेश पौड्याल र शोभा शाक्य थिए । उक्त प्रस्तावको पक्षमा १ सय ८ मत परेको छ भने विपक्षमा कुनै पनि मत परेन ।
प्रस्ताव सर्वसम्मतरुपमा पारित भएपछि अब प्रदेश ३ को नाम बागमती प्रदेश रहने भएको छ । यसअघि आजै बसेको बैठकले प्रदेश–३ को स्थायी राजधानी हेटौँडा कायम गर्ने निर्णय गरेको थियो । अब प्रदेश तीनको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम भएको छ ।




प्रतिक्रिया