पोखरा – कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी गर्ने सहकारीका तत्कालीन संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित ७ जनालाई कैद र जरिवानाको फैसला गरेको छ ।
अदालतका शाखा अधिकृत तारानाथ पोखरेलका अनुसार संस्थापक अध्यक्ष नेपालीलाई ८ वर्ष कैद सजाय र १ करोड २६ लाख २३ हजार जरिवाना तोकिएको छ ।
सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही ७ वर्ष कैद र १ करोड २६ लाख २३ हजार जरिवानाको फैसला भएको उनले जानकारी दिए ।
अर्का प्रतिवादी निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही ६ वर्ष कैद सजाय र २६ लाख २३ हजार जरिवाना तोकिएको शाखा अधिकृत पोखरेलले बताए । जरिवानासँगै १८ करोड ९६ लाख ५९ हजार बिगो माग भएको उनको भनाइ छ ।
न्यायाधीश चन्द्रप्रकाश तिवारीको एकल इजलासले गत कात्तिक १७ गते फैसला गरेको र फैसलाको पूर्णपाठ आउन बाँकी रहेको उनले बताए ।
बचतकर्ताहरूले सहकारीका संस्थापक अध्यक्ष नेपालीलगायत १५ जनाविरुद्ध गत वर्ष दायर गरेको अभियोगमाथि सुनुवाइ गर्दै अदालतले फैसला गरेको हो । विक्रम संवत् २०७९ सालको स्थानीय तह निर्वाचनमा बागलुङको ढोरपाटन नगरपालिकाको प्रमुख (मेयर) मा निर्वाचित नेपाली बागलुङमा रहेको सोही नामको सहकारी ठगी प्रकरणमा विक्रम संवत् २०८१ असोजदेखि पुर्पक्षका लागि बागलुङ कारागारमा थुनामा छन् ।
उनीमाथि पोखरा र बागलुङमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको अर्बौँ रुपैयाँ हिनामिना पारेको आरोप छ ।


प्रतिक्रिया