नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य, अब समृद्धिको यात्रा : प्रचण्ड

नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य, अब समृद्धिको यात्रा : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वमा दक्षिण एशियाको सम्मानजनक स्थान निर्धारण गर्नुपर्नेमा जोड दिएका छन्।

राजधानीमा आयोजित ‘दक्षिण एशियाका व्यापारिक नेतृत्वकर्ताहरुको छैठौं सम्मेलन”मा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दक्षिण एशियालाई विश्वकै शान्त र समृद्ध क्षेत्र बनाउन सबैमा अपील गरेका हुन्।

‘मानवीय तथा प्राकृतिक श्रोतका दृष्टिले दक्षिण एशिया धनी रहेको छ। क्षेत्रीय सामिप्यता, सांस्कृतिक समानता र विकासको चाहना उत्प्रेरक पक्ष रहेका छन्,’ प्रचण्डले भने, ‘अब दक्षिण एशियाली देशहरुबीचको आपसी एकता र सामुहिक प्रयासको खाँचो रहेको छ।’

दक्षिण एशियाली क्षेत्रीय सहयोगका क्षेत्रमा भए गरेका प्रगतिहरुको आत्मसमीक्षा गरेर आगामी बाटो पहिल्याउनुपर्ने बताउँदै अध्यक्ष प्रचण्डले परस्पर लाभ हुने किसिमले सहकार्यलाई अघि बढाउनुपर्नेमा जोड दिए।

तीन दशक अघि दक्षिण एशियाली क्षेत्रको साझा समृद्धिको लक्ष्य बोकेर सार्कको स्थापना भएको स्मरण गर्दै उनले सार्कले अपेक्षित विकास गर्न नसकेको टिप्पणी गरे।

‘यो बीचमा सार्कले केही संयन्त्र निर्माण गरेको छ, कतिपय सम्मेलन भएका छन, र सहयोगको एउटा आधार तयार भएको छ,’प्रचण्डले भने, ‘तर सार्कले शान्ति, स्थायित्व र समृद्धिको हाम्रो आशा भने अझै पुरा गर्न सकेको छैन । यस क्षेत्रमा रहेको विकास र समृद्धिको विशाल सम्भावना र दक्षिण एशियाका देशहरुले अनुभुति गरिरहेको लाभका बीचमा ठूलो धरातलीय अन्तर रहेको छ।’

अध्यक्षले दक्षिण एशियाली राष्ट्रहरुले दक्षिण एशियाली आर्थिक संगठन स्थापनाको महत्त्वाकांक्षी लक्ष लिइरहेको अवस्थामा विकासमा ढिलासुस्ती क्षम्य नहुने बताए। ‘साफ्टा र स्याटिसको पूर्ण कार्यान्वयनका पथमा अघि बढ्नका लागि राजनैतिक इच्छाशक्ति आवश्यक छ,’ उनले भने।

नेपालले राजनीतिक संक्रमणको कालखण्ड पुरा गरेर विकास र समृद्धिको यात्रामा अघि बढेको बताउँदै अध्यक्ष प्रचण्डले नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको समेत औंल्याए। ‘नेपालको समृद्धि र विकासको अभियानमा सबैको सहयोगको अपेक्षा रहेको छ,’ उनले भने।