चीनमा कोरोना भाइरसको प्रकोप : नेपालमा निगरानी बढाइयो

चीनमा कोरोना भाइरसको प्रकोप : नेपालमा निगरानी बढाइयो


काठमाडाैं – चीनको वुहान शहरबाट नेपाल आएका एक नेपालीमा कोरोना भाइरसको लक्षण भेटिएपछि नेपालमा सतर्कता अपनाउन थालिएको छ ।

चीनमा फैलिएको यो भाइरसको प्रकोप बढेसँगै नेपालमा पनि सतर्कता र निगरानी बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

कोरोनाको जोखिम बढेसँगै त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइएको र रुघाखोकीलगायत श्वासप्रश्वासको कुनै समस्या देखिएका यात्रुलाई स्वास्थ्य परीक्षण गर्न पठाउन थालेको महाशाखाले जनाएको छ ।

विमानमा रुघाखोकी लागेका बिरामी भए वा नभएको बारे जानकारी लिने र त्यस्ता बिरामी पाइए उनीहरुको स्वास्थ्य परीक्षण गर्न पठाउने गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय भइरहेको विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए ।

विशेष गरि वुहान शहरबाट आएका यात्रुमा विमानस्थलले निगरानी गर्न थालेको छ । वुहान शहरबाट आएका एक नेपालीमा यो भाइरसको सङ्क्रमण देखिएपछि ती व्यक्तिको नमुना परीक्षणका लागि हङकङ पठाइएको छ । ती व्यक्ति अस्पतालबाट डिस्चार्ज भए पनि निगरानीमै रहेको महाशाखाले जनाएको छ ।

अहिलेसम्म यो भाइरसको सङ्क्रमण चीनबाहेक अमेरिका दक्षिण कोरिया जापान र थाइल्याण्डमा पनि देखिएको छ । यो भाइरसका कारण अहिलेसम्म कम्तीमा १७ जनाको ज्यान गइसकेको छ भने चीनमा पाँच सयभन्दा बढी मानिस यसबाट सङ्क्रमित भएका छन् ।