बलात्कार आरोपी सिद्धबाबा भारत भागे

बलात्कार आरोपी सिद्धबाबा भारत भागे


विराटनगर – बलात्कार आरोपी सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरी भारत भागेका छन् ।

उच्च अदालत विराटनगरमा आफू विरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाई चलिरहेका बिहीबार दिउँसो उनी आफ्ना केही अनुयायीसहित ग १ च ८१५७ नम्बरको पजेरो गाडी चढेर भारततिर लागेका हुन् ।

सरकारले उपलब्ध गराएको निजी सुरक्षा गार्ड नेपाल प्रहरीका हवल्दार मुकेश साहलाई भने नेपाल–भारत सीमा क्षेत्रबाटै फिर्ता पठाइदिएर विराटनगरको जोगवनी नाका हुँदै उनी भारततर्फ लागेको श्रोतले जानकारी दियो । स्रोतकाअनुसार सिद्धबाबाले कहिले नेपाल फर्किने भन्ने बारेमा केही पनि कुरा जानकारी गराएका छैनन् ।

सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट केही समर्थक र अनुयायीका साथमा उच्च अदालत जाने भनेर हिँडेका सिद्धबाबा अदालत नपुगिकन सिधै जोगवनी हानिएका थिए ।

‘हामी पारी पुगेर आउँछौं भन्दै निजी सुरक्षा गार्डलाई सीमामा ओरालेर केही अनुयायीका साथमा सिद्धबाबा भारततिर गएको पाइयो,’ मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले भने, ‘उनी किन उता लागे भन्ने बारेमा यकिन भइसकेको छैन ।’