राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले सातै प्रदेशबाट निल खायो, कुन प्रदेशबाट को विजयी ? (नामसहित)

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले सातै प्रदेशबाट निल खायो, कुन प्रदेशबाट को विजयी ? (नामसहित)


काठमाडौं – राष्ट्रिय सभा चुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उठाएका सबै उम्मेदवार विजयी भएका छन् ।

बिहीबार भएको निर्वाचनमा राष्ट्रियसभा सदस्यको अन्तिम मतपरिणाम आजै सार्वजनिक भएको हो । १८ सदस्यका लागि बिहीबार भएको निर्वाचनमा दुईजना राजपा–नेकपा गठबन्धनबाट र १६ जना सत्तारूढ नेपालक कम्युनिष्ट पार्टी (नेकपा)बाट विजयी भएका छन् ।

मतपरिणाम सार्वजनिक भएसँगै राष्ट्रिय सभामा प्रदेश १ बाट तीन जना, प्रदेश २ बाट चार जना, वागमती प्रदेशबाट दुई जना, गण्डकी प्रदेशबाट दुई जना, प्रदेश ५ बाट तीन जना, कर्णाली प्रदेशबाट दुई जना र सुदूरपश्चिम प्रदेशबाट दुई जना गरी कुल १८ जना छानिएका हुन् ।

राष्ट्रियसभाको नतिजासँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निल खाएको छ । कमजोर प्रतिपक्षी र आन्तरिक कलहमा फसेको नेपाली कांग्रेसले यसअघि राष्ट्रियसभामा पाएको ७ वटै सिट गुमाएको हो ।

कुन प्रदेशबाट को–को विजयी ?

प्रदेश १ मा महिलातर्फ इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल विजयी भए । प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवान विजयी भएका छन् ।

प्रदेश २ मा नेकपाले राजपासँग तालमेल गरेको थियो । जसमध्ये महिला र दलित नेकपाले लिएको थियो भने अल्पसंख्यक र अन्यतर्फको उम्मेदवार राजपाले उठाएको थियो । प्रदेश २ मा गठबन्धन तर्फका राजपाका उम्मेदवार शेखर प्रसाद सिंह र मृगेन्द्रकुमार सिंह विजयी भए ।

यस्तै प्रदेश ३ बाट महिलामा गङ्गा बेलबासे र अन्यमा वेदुराम भुसाल विजयी भए ।

गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ र महिला तर्फ भगवती न्यौपाने विजयी भए । प्रदेश नम्बर ५ मा महिलामा विमला घिमिरे र अपाङ्ग तथा अल्पसङ्ख्यकतर्फ जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराई विजयी भएका छन् ।

प्रदेश ६ मा महिलाबाट सुनिता बिसी र अन्यबाट मायाप्रसाद शर्मा विजयी भएका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशबाट महिलामा शारदा भट्ट र अन्यबाट तारामान स्वाँर विजयी भएका छन् ।

बिहीबार भएको निर्वाचनमा स्थानीय तहतर्फ ९९ दशमलब १९ प्रतिशत र प्रदेशसभा सदस्यतर्फ भने ९९.१५ प्रतिशत मत खसेको निर्बाचन आयोगले जनाएको छ ।