विप्लव समूहको सूक्ष्म निगरानी गर्दै सरकार

विप्लव समूहको सूक्ष्म निगरानी गर्दै सरकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्ला दिन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले चन्दा असुली तीव्र बनाएको छ। चन्दा असुलीको सूचना गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय दुवै ठाउँमा पुगेको छ। तीन वटा पत्रअनुसार नेकपाको कीर्तिपुर नगरपालिका इन्चार्च राजु पुतुवारले विभिन्न शिक्षण अस्पताल, संघसंस्था, रेस्टुरेन्ट, उद्योगी÷व्यवसायी एवं निर्माण व्यवसायीलाई धम्क्याएर चन्दा संकलन गरिरहेको उल्लेख छ।

गृहले प्रहरी मुख्यालयलाई अनुसन्धान गरि कारवाही गर्न निर्देशन दिएको छ। गृहका शाखा अधिकृत लोकमान श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा ‘चन्दा संकलनबारे आवश्यक निगरानी बढाएर कानुनविपरीत कार्यमा संलग्नलाई नियमानुसार कारवाही गरि सो कारवाहीको जानकारी यस मन्त्रालयमा गराउनु।’

उनकै हस्ताक्षरको अर्को पत्रमा विप्लवका भक्तपुर जिल्ला सेक्रेटरी ऐनबहादुर शाही हाल काठमाडौंको कलंकी, स्युचाटार क्षेत्रमा बसी गोप्य योजना बनाएर सक्रिय रहेको उल्लेख छ।

अर्को पत्रमा विप्लवका ललितपुरका कार्यकर्ता दक्षिणी भेग बागमती, कोन्ज्योसोम र महांकाल गाउँपालिकाको कालेश्वर, गोटिखेल तथा आ श्राङलगायत ठाउँमा संगठन विस्तार गरिरहेको उल्लेख छ। पत्रअनुसार यी स्थानमा निगरानी बढाएर कारवाहीको जानकारी मन्त्रालयमा दिन निर्देशन दिइएको छ। विप्लवकै सक्रिय कार्यकर्ता भनिएका राजकुमार परियार हाल गोदावरी नगरपालिकाको चापागाउँमा सक्रिय भएको पत्रमा उल्लेख छ। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।