काठमाडौं – गृहसचिव प्रेमकुमार राईलाई बिदाई गरिएको छ । गृहमन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले बिदाई गरेका हुन् ।
गृहमन्त्री बादलले सेवा निवृत्त भएका गृहसचिव राईलाई आगामी जीवनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
विदाइ कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले गृहसचिवबाट विदाइ गरिएपनि राईलाई नयाँ जिम्मेवारीमा पठाउने तयारी भएको बताएका छन् । ‘उहाँ गृहसचिवबाट मात्रै विदाइ हुनुभएको हो । उहाँलाई नयाँ अभियान, नयाँ सेवा र नयाँ जिम्मेवारीमा पठाउँदैछौँ’, मन्त्री थापाले भने ।
थापाले विशेष जिम्मेवारी दिइने घोषणा गरेसँगै राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने तयारी सरकारले गरको बुझिाएको छ । थापाले राईको इमान्दारीता, योग्यता र राष्ट्रप्रेमका कारण मन्त्रालयले धेरै सफलता पाएको बताएका छन् ।
विदाइमा सचिव राईले गृहमन्त्री र मन्त्रालयका अन्य कर्मचारीहरुको सहयोगबाट २२ महिनामा धेरै सुधारका काम गरिएको बताए । प्रशासन सुधार, सुशासन कायम गर्न, प्रहरी प्रशासनमा लामो समयदेखिको बढुवा प्रकृया लगायतका सुधारका काम आफ्नो कार्यकालमा भएको उनले बताए ।
गृहमन्त्री बादलले राईलाई मायाको चिनो प्रदान गरेका थिए । राईले आइतबार लागू हुनेगरी गृहसचिवबाट राजीनामा दिएका थिए ।
राईको बिदाई समारोहमा गृहमन्त्रीसहित सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत मन्त्रालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।





प्रतिक्रिया