काभ्रे- काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-७ स्थित ह्वाइट पार्क रिसोर्टमा छापा मारेर प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई मंगलबार नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेकाअनुसार उनीहरूको साथबाट कयौँ संख्यामा ल्यापटप र मोबाइल फोन बरामद गरिएको छ।
केही दिनयता त्यस क्षेत्रमा बसेका चिनियाँ नागरिकहरूको गतिविधि शंकास्पद रहेको भन्दै स्थानीले गुनासो गरेका थिए। त्यसपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले मंगलबार रिसोर्टमा छापा मारेर उनीहरूलाई समातेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रबिन विष्टले नियन्त्रणमा लिइएका चिनियाँमा ३१ जना पुरुष र पाँच जना महिला रहेका बताएका छन्।
रिसोर्टका दुईवटा कोठामा ठूलो संख्यामा ल्यापटप र मोबाइल फोन भेटिएकाले थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट विज्ञसहितको टोली झिकाइएको विष्टले बताए।
जिल्ला प्रशासन कार्यालयकी अधिकृत सुनिता थापाको नेतृत्वमा प्रशासनको टोली र प्रहरी टोलीले संयुक्त रूपमा छापा मारेर ती चिनियाँलाई समातेको हो ।
नियन्त्रणमा लिइएका चिनियाँहरूको नेपाल बसाइको उद्देश्य, उनीहरूको गतिविधि र आवश्यक कागजात जाँचकार्य भइरहेको प्रहरीले जनाएको छ।
केही दिनयता पाँचखालका विभिन्न घर र होटल भाडामा लिएर चिनियाँ नागरिकहरू बस्न थालेपछि स्थानीयवासीले प्रहरीलाई निगरानीका लागि भनेका थिए ।
पाँचखालसँगै धुलिखेलको देवीथानस्थित गन्तव्य रिसोर्ट, पनौतीको थुम्की रिसोर्ट र बल्थली माउन्टेन रिसोर्टलगायतमा चिनियाँ नागरिकहरू मासिक रूपमा ठूलो रकम भाडा तिरेर बस्दै आएका छन्।


प्रतिक्रिया