गजेन्द्र महतलाई निरुदेवी पालको चुनौतीः एक दिन छाउगोठमा बसेर देखाउनूस्

गजेन्द्र महतलाई निरुदेवी पालको चुनौतीः एक दिन छाउगोठमा बसेर देखाउनूस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद निरुदेवी पालले छाउगोठ भत्काएको विरोध गर्ने नेकपाकै सांसद गजेन्द्र महतलाई एकदिन छाउगोठमा बसेर देखाउन चुनौती दिएकी छिन् । उनले टाउको दुख्नुपर्ने कारण बुझ्न नसकेकाे बताइन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसद पालले १२ वटा जिल्लामा गरी ८ हजर ७ सय छाउगोठ भत्काइएको सरकारी रिपोर्ट प्रस्तुत गरेकी थिइन् ।

‘डलर खेती गर्नेहरूले ती घर(छाउगोठ) देखाएर आयस्रोत बटुल्ने प्रयास गरेका थिए’, पालले भनिन्, ‘टाउको दुख्नु स्वभाविक हो तर अरुको टाउको दुख्नुपर्ने कारण मैले बुझ्न सकेकी छैन ।’

उनले छाउगोठ भत्कँदा सुदूरपश्चिम र कर्णालीका नेपालीले छाउगोठ भत्किँदा टाउको उठाइरहेको बताइन्।

‘त्यस्तो टाउको दुखाइ हुनुपर्ने दाजुभाइ हुनुहुन्छ भने कम्तीमा पनि एकदिन बसेर देखाइदिन आग्रह गर्न चाहन्छु’, पालले भनिन्, ‘सुदूरपश्चिमी र कर्णालीहरूले टाउको उठाइरहेका बेला किन यो विषय आइरहेको हो ?’

सत्तारूढ नेकपाकै सांसद गजेन्द्रबहादुर महतले गत १७ गतेको बैठकमा छाउगोठको नाममा घर भत्काइएको आरोप लगाएका थिए ।

‘अहिले हाम्रो गृह मन्त्रालय यस्तै छ । छाउगोठको नाममा हाम्रो घर भत्काइएका छन् । एउटा व्यक्ति मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ?’, महतले प्रश्न गरेका थिए, ‘८ जना मान्छे होटलमा मृत्यु भएको छ । होटल भत्काउँदै हिँड्ने ?’