सांसद पासवानको कविता : ‘समृद्धिलाई कोरोना भाइरसले खाईसक्यो’

सांसद पासवानको कविता : ‘समृद्धिलाई कोरोना भाइरसले खाईसक्यो’


काठमाडौं – समाजवादी पार्टीका सांसद रामप्रित पासवानले नेपालको भ्रष्टाचार चीनबाट फैलिएको कोरोना भाइरस भन्दा पनि खतरनाक भएको बताएका छन् ।

राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद पासवानले भ्रष्टाचार नामको भाइरस नेपालमा फैलिएको भन्दै त्यसतर्फ चिन्ता गर्न सरकारलाई आग्रह गरेका छन् ।

भ्रष्टाचार, चर्को बजार मूल्य र बेरोजगारीको चपेटामा समाज पर्दै गएको र त्यसैमा आधारित भएर युवाहरुले चोक चोकमा बसेर मुक्तक गाउने गरेको बताउँदै सांसद पासवानले बैठकमै कविता वाचन गरि सरकारलाई तीखो व्यंग्य प्रहार गरे ।

“नेपालीहरु खोज्दैछन् विकास र सम्मृद्धि

अनायास देख्दै छन् दण्डहीनता र भ्रष्टाचारमा वृद्धि

तरकारी बजार देखि सरकारी कार्यालयसम्म भ्रष्टाचार झांगिसक्यो,

सैशबकालमै सम्मृद्धिलाई कोरोना भाइरसले खाइसक्यो ।

समानता स्वतन्त्र सिकिस्त छन्, लोकतन्त्र पनि थला परिसक्यो

संघीयता, गणतन्त्र छटपटिदै छन् यहाँ ,

समावेशीताको पारा झरिसक्यो

आफ्नै भूमिका नागरिकता दिदैनौँ ठानेर विदेशी

के अपराध भो जन्मनु भइ जनजाति र मधेशी

गाँस, बास ,कपास माग्दा कुरा मात्रै चिला

जनता आवास, भूमि ऐन पनि कहाँ छ र गतिला ?

हिँड्ने सडक माग्दा जहाजको कुरा झिक्छौँ

सत्ता टिकाउन, विदेशी डलर पाउन आफै किन बिक्छौ ?

यहाँसम्म कि सरकार,

यति सम्झौता, गोकर्ण रिसोर्ट र मेलम्ची ठेक्कामा के ठिक छौँ ?

सरकार,

न्याय र समानताको नारा लगाउछौ बेसरी

समान दोषमा कोही सत्तामा त कोही जेलमा कसरी ?

ढुकुटीमा मोजमस्ती, अनुदानमा गर्छौँ भोज,

जनता किन भोकै छ गर्यौ कहिल्यै खोज ?

देश बनाउन युवा शक्ति खाडीमा फाल्दैछन् ज्यान,

के पाए युवाले सिवाय तिरस्कार र अपमान

तिमिलाई छुट कसरी ? गर्न वाइडवडी र एनसेल काण्ड

पुखौको पौरख गुमाउदै हँसाइ पुरै ब्रह्माण्ड ?

प्याजको भाउ घट्दै गर्दा कुखुराको भाउ आकासि सक्यो

के गर्यौ सरकार कुखुराको मूल्यले होलीको मुखैमा पिरोलिसक्यो ।”