महेन्द्रनगर – कञ्चनपुर जिल्लामा बाढीमा डुबेर २ किशोरीको मृत्यु भएको छ भने १ किशोरी बेपत्ता भएकी छन् ।
जिल्लाको पुनर्वास नगरपालिका–५ रातोखालीकी १५ वर्षीया सिर्जना बोगटी र १५ वर्षीया लक्ष्मी बोगटीको सोमबार दिउँसो घरनजिकै बाढीमा डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार सिर्जना र लक्ष्मीको शव भेटिएको छ भने आरती बोगटी बेपत्ता छिन् ।
सँगै गएकी १२ वर्षीया अञ्जली बोगटीको सकुशल उद्धार गरिएको छ । बेपत्ता आरतीको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
गाउँको एउटा टोलबाट अर्को टोलमा जाँदै गर्दा बाटोमा बाढीमा डुबेर किशोरीहरू बेपत्ता भएका थिए ।
यसअघि आईतबार घरभित्र बाढी पस्दा डुबेर कृष्णपुर नगरपालिका–१ पहरियामा ७ महिनाका सोनु धानुकको मृत्यु भएको छ भने बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदीको बाढीमा बगेर बेपत्ता भएका छन् ।
प्रतिक्रिया