इरानमाथि इजरायलको जवाफी आक्रमण


तेहरान – इरानको सरकारी सञ्चारमाध्यमले शुक्रबार मध्य प्रान्त इस्फहानमा विस्फोट भएको बताएको छ । अमेरिकी सञ्चारमाध्यमले भने अधिकारीहरूलाई उद्धृत गर्दै इजराइलले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि जवाफी आक्रमण गरेको बताएको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार धेरै इरानी सहरमा हवाई रक्षा प्रणालीलाई सक्रिय तुल्याइएको छ । मुलुकको आधिकारिक प्रसारकले इस्फहान सहर नजिक विस्फोटको आवाज सुनिएको बताएको छ ।

सप्ताहन्तमा इरानले इजराइलमाथि सयौँ मिसाइल र ड्रोन प्रहार गरेपछि इजराइलले जवाफी आक्रमण गर्ने चेतावनी दिएको थियो । इरानको अधिकांश ड्रोन तथा मिसाइल आक्रमणलाई रोकिएको थियो ।

इरानको फार्स समाचार समितिले कहजावरेस्तान, इस्फहान विमानस्थल र शेखरी सेनाको विमानस्थल नजिक ‘तीन वटा विस्फोट’ सुनिएको बताएको छ । इरानको अन्तरिक्ष एजेन्सीका प्रवक्ता होसेन डेलिरियनले भने ‘धेरै’ ड्रोनलाई ‘सफलतापूर्वक खसालिएको’ बताए । “मिसाइल आक्रमणको कुनै रिपोर्ट गरिएको छैन”, उनले सामाजिक सञ्जाल एक्समा भने ।

आधिकारिक आइआरएनए समाचार समितिले भनेको छ, “कुनै पनि हवाई खतराको प्रभावले कुनै ठूलो क्षति वा ठूलो विस्फोट नभएको रिपोर्टहरूले सङ्केत गरेका छन् ।” इरानको तस्निम समाचार समितिले इस्फहानमा आणविक केन्द्रहरू ‘पूर्णरूपमा सुरक्षित रहेको’ रिपोर्ट गरिएको बताएको छ ।

एबिसी र सिबिएस न्युजले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै इजराइलले आक्रमण गरेको बताएका छन् । ह्वाइट हाउस वा पेन्टागनका तर्फबाट तत्काल कुनै टिप्पणी आएको छैन । सिएनएनले एक अधिकारीलाई उद्धृत गर्दै इजराइली आक्रमणको लक्ष्य आणविक नभएको बताएको छ । इजराइली सेनाले एएफपीलाई भनेको छ, “हामीसँग अहिले कुनै टिप्पणी छैन ।”

सप्ताहन्तमा इरानले क्षेत्रीय शत्रु इजराइलमाथि आफ्नो पहिलो प्रत्यक्ष आक्रमण गरेको थियो । इजराइलले आफ्ना सहयोगीहरूको सहयोगमा इरानले प्रहार गरेका तीन सय मिसाइल र ड्रोनमध्ये अधिकांशलाई रोकेको र कसैको मृत्यु नभएको बताएको छ ।

इरानले सिरियाली राजधानी दमास्कसमा आफ्नो वाणिज्य दूतावासमा अप्रिल १ मा भएको आक्रमणको प्रतिशोधमा इजराइलमाथि आक्रमण गरेको हो । वाणिज्य दूतावासमा भएको आक्रमणका लागि इरानले इजराइललाई दोषी मानेको थियो । उक्त आक्रमणमा इरानको रिभोल्युसनरी गार्डका दुई जनरलसहित सात जना मारिएका थिए ।

सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएपछि इरान समर्थित समूहहरूले राष्ट्रपति बशर अल–असदको सेनालाई बलियो बनाएका छन् । इरान प्यालेस्टिनी लडाकू समूह हमास र लेबनानको हिजबुल्लाहको पनि मुख्य समर्थक हो । -एएफपी

प्रतिक्रिया दिनुहोस
Advertisement