कृष्णको भविष्य


कक्षा १० को परीक्षा उत्तीर्ण गरेको कृष्ण जेहेन्दार र होनाहार थियो । सधैँ मौन रहने चाहेको कुरामात्र बोल्ने कृष्ण सधैँ परीक्षामा प्रथम मात्र हुन्थ्यो उसले द्वितीय स्थान कहिल्यै ल्याएन । पढाईमा तेजिलो भएता पनि उसको मनमा कता कता के के कुरा खेलिरहेको भान हुन्थ्यो । साथीहरु खेलिरहेको समयमा उसको साथी एकान्त हुन्थ्यो । बानी नै यस्तो हो कि अथवा केही असन्तुष्टीले हो भन्ने कुरा शिक्षक तथा साथीहरुले पत्ता लगाउन सकेका थिएनन् । जति जति दिन बढ्दै गयो उसमा गम्भीरता उस्तै बढेर गयो । यतिसम्म कि आफूलाई अप्ठ्यारो लागेको कुरापनि उसले कसैसँग पनि भन्दैनथ्यो । वस् टोलाएर हतभागीझैँ बसिमात्रै रहन्थ्यो । कतिले नसोधेका पनि होइनन् तर पनि उसको उत्तर मौनता नै थियो ।

 

जब १० पास भयो । उसको मौनताको पर्दाफास भयो । जन्मदिने आमा सानैमा छाडेर गएकी रहिछन् । बाबाले घरमा अर्की आमाको आगमन गराएका थिए । बाबा प्रोजेक्टको कामले घरमा बस्दैनथे । घरमा सानीआमाको राज थियो । घरमा साना भाइबहिनी थिए । घरको काम सबै उसैले गर्नुपर्थ्यो । काम, पढाइ रातदिनको करकरले गर्दा सधैँजसो चिन्तित रहन्थ्यो । उसका प्रत्युत्तर क्रियाकलाप मात्र रहन्थे । मुखले जवाफ जस्तोसुकै परिस्थितिमा फर्काउन्नथ्यो ।

एस एल सीमा राम्रो नम्बर ल्याएर पास भएता पनि उसको पढाइको निरन्तरता भने टुङ्गिएको भान हुन्थ्यो । दस परीक्षा सकिएको भोलिपल्ट देखिनै बाबाले एउटा जागिर खोजिदिएका थिए । कुनैपनि प्रतिवाद नगरी ऊ काममा लाग्न थालेको थियो । लाग्थ्यो पढ्ने इच्छा र आकाङ्क्षा भएता पनि पढ्न भने सकेको थिएन । उसको नम्बर हेरेर छात्रवृत्तिको लागि आउनेका लाइन थिए तरपनि बाबु र आमाको आदेशका कारण सानो बालकझैँ बन्न बाध्य थियो । ऊ अचेल बारम्बार सम्झिरहन्छ साथीहरुलाई, आफ्ना गुरुहरुलाई । ड्रेस लगाएर कलेज जान लागेका विद्यार्थी देख्यो भने भित्र गएर आफ्ना साथीसँग खिचेका फोटोहरु हेरिरहन्छ । घरमा कोही नभएको मौका पारेर बलीन्द्र धारा आँसु खसाउनु उसको नियति बनेको छ । एउटा होनाहार व्यक्तिले जीवनको परीक्षामा हार व्यहोर्न सुरु गरेको छ । आफ्नै मातापिताबाट, समाजबाट आफैँबाट । के होला उसको भविष्य, कृष्णको भविष्य । हजारौँ यही नियति भोग्न बाध्य छन्।

दीपक कुमार सिग्देल
( डी के यात्री )
हेटौँडा-९, मकवानपुर

पल्लबबाट

प्रतिक्रिया दिनुहोस
Advertisement