तृणा


लामो समयपछी आकाश चुहिएर धर्तीले थोरै भएपनि चिसो स्पर्श लिन पायो । सुकेका काँसका ठुँटाहरु केही नरम जस्ता देखिए । तछाड मछाड गरेर उड्ने चोक र बाटाका धुलोहरु पानीको आक्रोशित हिर्काईले जमिनमा पछारिनै पर्यो । खडेरीमा पानि परेर आकाश खुलेपछीको मौसम जो कोहीको आँखामा बस्छ नै । आज दिन त्यसै रमाईलो छ वारीपारी पाखा नियाल्दा अझ अर्को रमाईलो त एउटा भव्य साहित्यिक कार्यक्रममा जानु छ मेरो । … शब्दसँग खेल्ने बानी परेपछी साहित्यिक कार्यक्रम अझै बढी महत्व लाग्दो रहेछ । सुरुमा रहरमा लेखिने र पछी लत बसेपछी छोड्न गाह्यो आज गर्ने काम भोलीलाई थाती राखे पनि आजको साहित्यिक कार्यक्रममा जाने मनलाई थाति राख्न नसकिने खै कस्तो मोह हो यो भावनालाई शब्दमा उतार्नेबानी परेकाहरुको?

 

“आमा ! ए आमा आज चाडै खाना बनाउनूस है म कार्यक्रम मा जानु छ” हतार हतार भने आमालाई चटारो छ भन्ने सोच्दै नसोची मैले । पानि परेको भोलीपल्ट हो आज बारीमा मकै रोप्नु छ त्यसको ख्याल छैन मलाई । दिउँसो खेताला छन त्यो पनि याद छैन कार्यक्रममा जाने भनेपछी खै तृणा हो यो ।
…. मेरी आमा पनि साहित्यमा मोह भएको मान्छे मेरो गजल कविता चासो दिएर सुन्नुहुन्छ कहिले त राममायण र महाभारतका श्लोकहरु आमाकै कहरमा पनि बाचन गरेर सुनाईदिएकी छु मैले ।आमाको साहित्यप्रतिको मोहले मलाई सजिलो भएको छ कार्यक्रममा जाने बाटो किनकी साहित्यिक कार्यक्रममा जाने भनेपछी न जा कहिले भन्नुहुन्न ।
माचमा पराल छैन घाँस काट्नुपर्ने मेलामा खेताला आउने बेला भ ए खाजाको अत्तोपत्तो छैन मरेको मान्छे छोपेर पनि खेती लाउनु पर्ने बेलामा अझै भ्याईनभ्याई मलाई खाना बनाएर चाडै दिनुपर्ने ।आमा धर्ती हुन र त सन्तानको जतिसुकै पदचापमा पनि रमाउन सक्छिन आमा भगवान हुन र त हजारौ गल्तिमा क्षमा दिँदै आशिवार्द दिन सक्छिन ।
….सारा काम छोडेर चाडै नै खाना बनाउनुभयो आमाले बिहान भरिमा बल्ल बल्ल एउटा गजल लेख्न सके । यो साहित्य लेखन भन्ने कुरा पनी खै कस्तो हो लेख्छु भनेर कापीकलम लिएर जवरजस्ती बस्दैमा लेख्न नसिने दिमागलाई मात्र भारी । कहिले चाही फुर्सद नहुदा पनि भावबेग मडारिएर नलेखी सुखै नपाईने ।
…..घरमा कामको चटारो मैले भने बिहान भरि दिमाग घोटेर गरेको काम एउटा गजल त्यो पनि आफैलाई चित्त बुझेको छैन तैपनि कार्यक्रममा गएपछी एउटा भावना नसुनाए लेखकको मन अमिलो । अचेल त झन साहित्यिक कार्यक्रमहरुमा पनि अरुको रचना सुन्नु भन्दापनि आशनग्रहण गर्यो भ्याई नभ्याई आफ्ना रचना सुनायो ताली लियो हिड्यो । हुन त लेखकले पाउने नै के हो र ? रचना राम्रा नराम्रा जे भ एपनी 10/8 जना आफ्ना लागी ताली बजाईदिने चेलाचेली गाडी भाडा तिरेर खाजा खुवाएर कार्यक्रम मा पुर्याउन सके त तालीको पनि दुख नहुने ।
….सामाजिक सञ्जाल र एक दुइवटा कार्यक्रममा नाम चलेका साहित्यकारले मेरो चेलो भनेपछी जस्ता पनी साहितयकार किन लेख्नु पर्यो र राम्रो । पैसा भ ए सम्मान त्यसै आलो पालो सम्मान गर्यो सम्मानित भएपछी भै गो सहित्यमा भित्रिएको यो विकृतिसँग म पनि खुशी छैन हुन त एक्लो बृहस्तपी झुटो भने झै हामी जस्ता ढोगी भोगी हुन नस्कनेले यस्ता कुरामा बिवाद गर्नु बेकार हो बरु एति सोचुन्जेल एउटा कबिता लेखेको भए कुनै कार्यक्रम मा उद्घोषक चिनेको मान्छे परेछ भने बाचन गर्ने अवसर पाईन्थ्यो होला नत्र त दिनभर अर्काका रचना सुन्यो आफ्नो रचना झोलाको झोलै फिर्ता ल्याउनुपर्छ घरमा ।
….. फर्कदा बाटोमा छिमेकीले काहाँ ग एर आयौ नानी भनेर सोध्दाको जवाफमा साहित्यिक कार्यक्रममा गएर आएँ भन्नैपर्छ मनले ढाट्न मान्दैन ल्याएको केही नभएपनी । कार्यक्रममा के पाईन्छ भन्दा केही छैन उता मेलामा एउटा खेतालो घाटा आमालाई बिहानभरी मेरो लागी चटारो अनि भ्याई नभ्याईको मेरो सास्ति झन कता ?
…..तैपनी साहित्यले जफत गरेको मन र शब्दसाहित्यसँग बसेको लत कहाँ हट्छ र ? एकाएक मनोभावनाहरु उथलपुथल हुन थल्छन नलेखी सुखै छैन खै कस्को तृणा हो ??!!!

पल्लबबाट

प्रतिक्रिया दिनुहोस
Advertisement