दसैंको मुखमा लथालिङ्ग राष्ट्रिय ध्वजावाहक, आन्तरिक र अन्तराष्ट्रिय उडानका चार जहाज ग्राउन्डेड

दसैंको मुखमा लथालिङ्ग राष्ट्रिय ध्वजावाहक, आन्तरिक र अन्तराष्ट्रिय उडानका चार जहाज ग्राउन्डेड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- दसैंको मुखमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को उडान व्यवस्थापन लथालिङ्ग बनेको छ।

निगमका एक वाइडबडी, एक न्यारोबडी र दुवै ट्विनअटर जहाज एकैपटक ग्राउन्डेड भएपछि अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा एकसाथ समस्या आएको हो ।

इटालीमा मर्मतका लागि पठाइएको वाइडबडी जहाज निर्धारित समयमै नेपाल फर्किन सकेको छैन। त्यस्तै, काठमाडौंमा रहेको न्यारोबडी जहाज पनि इन्जिनमा समस्या देखिएपछि उडानबाट हटाइएको छ।

यता देशका दुर्गम क्षेत्रमा आन्तरिक उडान गर्दै आएका दुवै ट्विनअटर जहाजमा समेत प्राविधिक समस्या आएपछि थन्किएका छन् । जसले आन्तरिक उडान प्रभावित भएको निगमले जनाएको छ।

यसअघि निगमको एकमात्रै सञ्चालनमा रहेको वाइडबडी नाइन एन- एएलवाई पनि १५ दिनअघि जापानको नारितामा इन्जिनको फ्यान ब्लेडमा समस्या देखिएपछि केही दिन ग्राउन्डेड भएको थियो। मर्मतपछि सेप्टेम्बर २३ मा उक्त जहाज पुनः सञ्चालनमा आयो

इटालीमा ‘मकालु’
निगमको एयरबस ए–३३० वाइडबडी नाइन एन- एएलजेड ‘मकालु’ लाई गत अगस्ट ९ मा इटालीस्थित एटिटेक एस.पी.ए.मा नियमित सी-चेकका लागि पठाइएको थियो। विस्तृत परीक्षणपछि इन्जिनसँग सम्बन्धित प्रणालीमा थप समस्या देखिएपछि जहाजको नेपाल फर्कने समय लम्बिएको हो।

सी-चेक नियमित तर विस्तृत मर्मत परीक्षण हो, जसमा जहाजको इन्जिन, संरचना, ल्यान्डिङ गियर, हाइड्रोलिक प्रणाली तथा एभियोनिक्सलगायत महत्वपूर्ण प्रणाली परीक्षण गरिन्छ।

निगमले सुरुमा जहाज अगस्ट अन्तिमसम्म नेपाल ल्याउने तयारी गरेको थियो। तर अन्तिम परीक्षणका क्रममा थप प्राविधिक समस्या देखिएपछि आवश्यक पार्ट्स तथा प्राविधिक स्वीकृतिको प्रक्रियाले समय लिएको छ।

न्यारोबडीमा पनि समस्या

अन्तर्राष्ट्रिय उडान गरिरहेको निगमको अर्को न्यारोबडी एयरबस ए–३२० नाइन एन-एकेएक्स पनि बुधबार काठमाडौंमा अवतरण गरेपछि प्राविधिक समस्या देखिएसँगै ग्राउन्डेड गरिएको निगमका एक अधिकारीले बताएका छन् ।

न्यारोबडी जहाज छोटो तथा मध्यम दूरीका अन्तर्राष्ट्रिय गन्तव्यमा प्रयोग हुँदै आएको छ। वाइडबडीको उपलब्धता सीमित रहेका बेला न्यारोबडीमा पनि समस्या आउँदा निगमको उडान तालिका पुनर्संरचना गर्नुपर्ने भएको छ।

दुवै वाइडबडी ग्राउन्डेड हुँदा जापानको नारितासहितका गन्तव्यमा उडान रद्द र तालिका फेरिएको घटनाले निगमको सीमित जहाजमाथिको अत्यधिक निर्भरता यसअघि छ्याङ्ग भइसकेको छ। सेप्टेम्बरमा दुवै वाइडबडी एकैपटक उपलब्ध नहुँदा निगमले महत्वपूर्ण अन्तर्राष्ट्रिय उडानमा समस्या भोगिसकेको छ।

दुर्गम उडान प्रभावित

निगमले दुर्गम क्षेत्रका लागि सञ्चालन गर्दै आएका ट्विनअटर जहाजमध्ये सञ्चालनयोग्य रहेका दुईवटै जहाजसमेत अहिले उडानमा छैनन्।

निगमका आन्तरिक उडानमा भोजपुर, रुम्जाटार, रुकुम, डोल्पा, फाप्लु, रेसुङ्गालगायतका गन्तव्य समेटिँदै आएका छन्। निगमको प्रकाशित गर्मीयामको तालिकासमेत दुईवटा डीएचसी-६ ट्विनअटरमा आधारित थियो।

आन्तरिक उडान प्रभावित हुनुमा पाइलटको तालिम तथा करारसम्बन्धी विषय पनि कारण भएको निगम स्रोतले जनाएको छ। तर निगमको प्राविधिकतर्फका प्रवक्ता देवेन्द्र पुनले जहाजको प्राविधिक समस्याका कारण उडान रोकिएको बताएका छन्।

‘करारका पाइलटको म्याद थपमा समस्या भएर छलफलमा रहेको र स्थायी पाइलट उडानका लागि योग्य हुनुहुन्छ,’ पुनले भने, ‘ समस्या समाधानका लागि काम भइरहेको छ, छिट्टै उडान हुन्छ।’

समाधान खोजिँदै

निगमका प्रवक्ता पुनले इटालीमा रहेको वाइडबडीको आवश्यक पार्ट्स व्यवस्थापन तथा मर्मत प्रक्रिया अघि बढिरहेको र काठमाडौंमा ग्राउन्डेड न्यारोबडीको सामान ल्याउने प्रक्रिया भइरहेको बताएका छन्।

ट्विनअटरमा देखिएको प्राविधिक समस्या पनि समाधान गरेर दसैंअघि नियमित उडान सञ्चालन गर्ने तयारी रहेको उनलेे बताएका छन्।

‘हामी दसैंमा घर आउने यात्रुलाई निराश बनाउँदैनौँ,’ उनले भने, ‘अन्तर्राष्ट्रियतर्फका सबै जहाज र आन्तरिकतर्फ दुईवटै सञ्चालन गरेन व्यवस्थापन जुटेको छ।’

व्यवस्थापनमा लापरबाही

निगमको पछिल्लो अवस्थाले एउटा प्राविधिक समस्यासँगै राष्ट्रिय ध्वजावाहकको फ्लीट व्यवस्थापन, मर्मत योजना, स्पेयर पार्ट्सको उपलब्धता र आकस्मिक अवस्थामा वैकल्पिक जहाज व्यवस्थापनमा प्रश्न उठाएको छ।

दसैं र पर्यटनको मुख्य सिजनमा जहाजको माग उच्च हुने गर्छ। तर निगमले आफ्नै सीमित जहाजमध्ये एकभन्दा बढी जहाज लामो समयसम्म सञ्चालनमा राख्न नसक्दा आम्दानी र यात्रु सेवामा प्रत्यक्ष असर पर्छ । सेप्टेम्बरमा दुवै वाइडबडी ग्राउन्डेड हुँदा निगमले महत्वपूर्ण अन्तर्राष्ट्रिय गन्तव्यका उडान प्रभावित भएको थियो।

यसअघि पनि नियमित मर्मतका क्रममा जहाज लामो समय ग्राउन्डेड हुने र एउटा जहाजमा समस्या आउँदा पूरै उडान तालिका प्रभावित हुने अवस्था दोहोरिँदै आएको छ।

त्यसैले अहिलेको प्रश्न चारवटा जहाज कहिले उड्छन् भन्ने मात्र होइन, राष्ट्रिय ध्वजावाहकले आफ्नो फ्लीटलाई कसरी भरपर्दो बनाउने भन्ने हो।

जहाज थप्ने योजना, व्यावसायिक रूपमा सञ्चालन गर्ने रणनीति, मर्मत तथा स्पेयर पार्ट्सको दीर्घकालीन व्यवस्थापन र आकस्मिक अवस्थामा वैकल्पिक क्षमता निर्माण नगर्ने हो भने राष्ट्रिय ध्वजावाहकका रूपमा निगमलाई प्रतिस्पर्धी बनाउन कठिन हुने अवस्था छ।