निर्मलालाई न्याय माग्दै राजधानीका पोलपोलमा पम्पलेट,सरकार भेटियो न्याय भेटिएन


काठमाडौं – कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ बर्षीय नाबालिका निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न सकेको छैन । सरकारी तबरबाट हत्याको छानबिनका लागि गठिन समितिहरु समेत बेकामे बनेपछि यसको चर्को आलोचना हुँदै आइरहेको छ ।

यही सिलसिलामा सरकारको सामाजिक सुरक्षा कार्यक्रम प्रचारकै शैलीमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टरहरु टाँसिएका छन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको तस्वीर राख्दै काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा गएराति पोस्टर टाँसिएका हुन् ।

निर्मलालाई न्याय दिन माग गर्दै टाँसिएको पोस्टरमा अंग्रेजीमा लेखिएको छ– न्याय दिन ढिलाइ गर्नु न्याय दिन इन्कार गर्नु हो । भन्ने लेखिएका छन् । पछिल्लो समय यो घटनाको चर्चा केही धिमा भएको छ। साउन १० गते मारिएकी निर्मलाको ११ गते उखुबारीमा शव भेटिएको थियो।

त्यसपछि देशभर न्याय देऊ भनेर प्रदर्शनसमेत भएका थिए। राजधानीमा पनि न्याय माग्दै प्रदर्शन र द्वीपप्रज्वलन भएका थिए। निर्मलाका आमाबुबा पनि काठमाडौं आएर प्रधानमन्त्रीदेखी नेताहरू र सामाजिक अभियन्ताहरूलाई भेटेका थिए। उनीहरू फर्किएसँगै प्रदर्शन केही मत्थर समेत भएको थियो।

यसबीच प्रहरीले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्लीराज विष्ट र एक इन्स्पेक्टरलाई सेवाबाट बर्खास्त गरेको थियो। निर्मलालाई न्याय माग्ने विषयमा सामाजिक सञ्जालमा भने आवाज उठिरहेका छन्।

केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीका तस्बिरमा सामाजिक सुरक्षा घोषणाका अवसरमा ’नयाँ युगको सुरुवात’ लगायतका नारा लेखिएका थिए। सामाजिक सुरक्षा घोषणा कार्यक्रममा प्रधानमन्त्रीले त्यस्तो गर्नुको कारण-सरकार छ भन्ने देखाउनु रहेको, भन्ने बताएका थिए।

विभिन्न पेसामा संलग्न रहेका युवाहरूले पैसा उठाएर पम्पलेट छपाएर टाँसेको र अबका दिनमा सार्वजनिक तथा निजी सवारी साधनमा पनि टाँस्नका लागि स्टिकर बनाउने बताए। उनीहरूले यसो गर्नुका पछाडि सरकारका मन्त्री र उच्च अधिकारीले बाटोमा हिँड्दा देखून् र निर्मलालाई न्याय दिनुछ भन्ने नबिर्सिऊन् भनेर टाँस्नुपरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement