नेपाली सेनाको ‘प्रतिविद्रोह तथा जंगल युद्धकला’ तालिम सम्पन्न


काठमाण्डु – नेपाली सेनाले सञ्चालन गरेको ‘प्रतिविद्रोह तथा जंगल युद्धकला’ तालिम सम्पन्न भएको छ । गत साउन २४ गतेबाट सुरु भएको ‘प्रतिविद्रोह तथा जंगल युद्धकला’ तालिमको मंगलबार सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी निरञ्जन कुमार श्रेष्ठले समापन गरेका हुन् ।

नेपाली सेना लगायत विदेशी सेनालाई प्रतिविद्रोह तथा जंगल युद्धकला सम्बन्धि ज्ञान दिलाउने उद्देश्य अनुरुप नेपाली सेनाले अमलेखगंजमा तैनाथ नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा तालिम सुरु गरेको थियो ।

उक्त शिक्षालयको विविध गतिविधिहरु समावेश गरी तयार पारिएको ‘उत्कृष्टताको यात्रा’ नामक बुक समेत विमोचन गरिएको थियो । सो कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतलगायत नेपालस्थित अमेरिकी राजदूतावासका सैनिक सहचारी, रक्षा सहयोग कार्यालय प्रमुख लगायतको  उपस्थिती रहेको थियो ।

साथै उक्त तालिममा नेपाली सेनाका शिक्षार्थी अधिकृत २३ जना र अन्यदर्जा ५२ जना गरि जम्मा ७५ जना सहभागी भएका थिए भने विदेशी शिक्षार्थीतर्फ मित्रराष्ट्र अमेरिका, केन्या, बंगलादेश, श्रीलंका तथा कोरियाबाट अधिकृत शिक्षार्थी जम्मा ५ जना सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement