प्रहरी मुख्यालयले गर्यो सईबाट इन्स्पेक्टरमा बढुवा तयारी


काठमाडौं-  एक हप्ताभित्रै एआईजीदेखि डीएसपीसम्म रिक्त रहेको पदमा बढुवा सिफारिस गरेको बढुवा समितिले नेपाल प्रहरीका करिब ६५ जना प्रहरी नायब निरीक्षक (सई) लाई प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवाका लागि सिफारिस गर्ने तयारी गरेको छ । प्रहरी मुख्यालयको कर्मचारी प्रशासन शाखाले आजै बढुवा सूची प्रकाशित गर्नेगरी बढुवा समितिलाई सम्भावित उम्मेदवारहरुको व्यक्तिगत विवरण, कार्यसम्पादन मूल्यांकन विवरण उपलब्ध गराइसकेको स्रोतको दाबी छ ।   

गृहमन्त्री जनार्दन शर्माले यसपटकको बढुवामा २०५९, २०६०, २०६१ र २०६२ सालमा प्रहरी नायब निरीक्षकमा बढुवा भएकाहरुमध्येबाट उत्कृष्टहरुलाई छानेर बढुवा गर्ने गरी प्रक्रिया अगाडि बढाउन बढुवा समितिलाई निर्देशन दिए पनि केही भगौडा प्रहरी नायब निरीक्षकहरुले शक्तिकेन्द्रमार्फत दबाब दिएपछि बढुवा प्रक्रिया केही लम्बिन सक्ने देखिएको छ । २०५८ सालदेखि ६२ साल बीचमा सशस्त्र द्वन्द्वका समयमा राज्यविरुद्ध घात गरेर अफगानिस्तान, इराक, मकाउमा सेक्युरिटी गार्डको नोकरी खान जागिर छोडेर भागेका भगौडाहरुले अत्यन्तै चलखेल गरेकोले यसपटकको बढुवामा पनि व्यावसायिक र इमानदार प्रहरी अधिकृतहरु अन्यायमा पर्नसक्ने आँकलन गरिएको छ ।

करिब ४० को संख्यामा रहेका उनीहरु २०५८ सालदेखि २०६२ सालसम्म भागेर २०६३ सालमा नेपाल प्रहरीमा पुनर्बहाली भएका थिए । पुनर्बहाली हुँदा २०६३ देखि नै सईको गणना भएमा आफूहरुलाई मान्य हुने बताउँदै संगठनमा भित्रिएका उनीहरुलाई बढुवा गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयका व्यक्तिहरुले प्रहरी महानिरीक्षक प्रकाश अर्याल र गृहसचिव लोकदर्शन रेग्मीलाइ चर्को दबाब दिएको खुल्न आएको छ ।

बढुवाको लाइनमा २०५९ मा सई भएका करिब आधा दर्जन, २०६० का १ सय ७, २०६१ मा ३ लटमा बढुवा भएका करिब २ सय ५० र ६२ मा सई भएका करिब २ सय गरी करिब साढे ५ सय जना इन्स्पेक्टर बढुवाको आकांक्षी देखिएका छन् । २०६० मा सई भएका १ सय ७ मध्ये ३० जना विभिन्न भीआईपी र भीभीआईपीहरुको व्यक्तिगत सुरक्षा अधिकृत ९पीएसओ० मा कार्यरत छन् । उनीहरुलाई बढुवा गर्न भीआईपी, भीभीआईपीहरुको चर्को दबाब छ । उनीहरुबाहेक २७ जना विभिन्न कारबाही भोगेका र निलम्बनमा समेत परेका छन् भने १७ जना भारतीय शैक्षिक योग्यताको प्रमाणपत्रधारी छन् । उनीहरुलाई पनि यसपटकको बढुवामा समावेश गर्न शक्तिकेन्द्रको चर्को दबाब रहेको बुझिएको छ ।

२०५८ सालमा असईबाट सेवा प्रवेश गरेर २०६२ मा सई भएकामध्ये विभिन्न ठाउँमा खटिएर चुनौतीपूर्ण काम गरेका उत्कृष्ट अधिकृतहरुलाई समेत यसपटकको बढुवामा समेट्न संगठनभित्रैबाट चर्को दबाब छ । उक्त ब्याचमा कार्यसम्पादनमा उत्कृष्ट र अत्यन्तै स्मार्ट अधिकृतहरु कार्यरत छन् । उनीहरुलाई यसपटक बढुवामा समेट्नैपर्ने बाध्यता रहेता पनि विभिन्न शक्तिकेन्द्रको चलखेल र पहुँच अभावमा अन्यायको शिकार हुन सक्ने सम्भावना देखिन्छ । उक्त ब्याचका कृष्ण चन्द र २०६३ मा सई भएका हिमालय शाहलाई जसरी भए पनि बढुवा गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आईजीपी र गृहसचिवलाई चर्को दबाब दिएको प्रहरी मुख्यालय स्रोतको दाबी छ । चन्द प्रधानमन्त्री देउवाका आफ्नै भान्जा हुन् भने शाह वर्षौंदेखि देउवाको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) को रुपमा कार्यरत छन् ।

शाह अपराध महाशाखामा कार्यरत रहँदा यार्सागुम्बा लुटपाटको आरोपमा मुद्दा पुर्पक्षको लागि ३ महिना थुनामा परेका थिए । पूर्व एआईजी परशुराम खत्रीका छोरा सई राजु केसीसमेत उक्त घटनामा थुनामा परेका थिए । २०६२ को ब्याचबाट शालिक तिमिल्सिना पनि बढुवाका लागि चर्को दौडधूपमा लागेका छन् । उनी प्रहरी मुख्यालयको सुरक्षा महाशाखाको सुबेदार मेजर हुन् । सीआईबीले केही महिना अगाडि ३३ किलो सुन बरामद र त्यसका अभियुक्तलाई पक्राउ गर्दा मुख्य भूमिका निर्वाह गरेका वीरेन्द्र जोहारी र अपराध महाशाखामा वर्षौंदेखि कार्यरत गजेन्द्र रावल पनि बढुवाका लागि चर्को लबिङमा लागेका छन् ।

जोहारीलाई बढुवा गर्न प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आईजीपी प्रकाश अर्याललाई दबाब दिएका छन् भने रावललाई इन्स्पेक्टरमा बढुवा गराउन आईजीपी सचिवालयका डीएसपी भूपेन्द्र खत्रीको सक्रियता देखिएको आईजीपी सचिवालय स्रोतको दाबी छ ।  

प्रतिक्रिया दिनुहोस
Advertisement