प्रहरीलाई एसएलआर बन्दुक नदिन सरकारसँग अमरेशको माग

प्रहरीलाई एसएलआर बन्दुक नदिन सरकारसँग अमरेशको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् अमरेशकुमार सिंहले नेपाल प्रहरीलाई अत्याधुनिक एसएलआर हतियार नदिन आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् सिंहले नेपालबाहेक संसारको कुनै पनि देशका प्रहरीले एसएलआर राइफल नबोक्ने दाबी गरे । भिड नियन्त्रणका लागि लाठी र टियर ग्यास नदिने तर, बन्दुक दिने राज्यको प्रवृत्ति रोकिनुपर्ने उनको भनाइ थियो ।

‘मेरो प्रश्न राज्यसँग छ, मधेसमा जहिले पनि मधेस आन्दोलन होस् थरुहट अन्दोलन होस् त्यहाँ गोली मात्रै किन चल्छ ? त्यहाँ लाठी किन चल्दैन ? टियर ग्यास किन चल्दैन ? दुनियाँमा नेपालबाहेक कुनै पनि देशले प्रहरीलाई एसएलआर दिएको छैन । नेपालमा मात्र प्रहरीलाई एसएलआर दिइन्छ । पुलिसलाई कसैले ढुंगा हान्छ । लाठी छैन, टियर ग्यास छैन, एसएलआर दिएको छ, अनि गोली हान्छ’, सिंहले भने ।

सेना, प्रहरी र सशस्त्र प्रहरीमा मधेसीको अनुहार कम भएकाले पनि सुरक्षा निकाय देख्ने बित्तिकै मधेसी नागरिकले विदेशी फौज आएको रुपमा बुझ्ने मनोविज्ञान रहेको सिंहले बताए । सिंहले सामान्य घटना हुने बित्तिकै मधेसमा सुरक्षाफौज उतार्ने सरकारले शिक्षक, चिकित्सक र इन्जिनियर भने पठाउने नगरेको आरोप उनले लगाए ।

‘सरकारले हुन तदारुकता साथ आर्मी, सशस्त्र र पुलिस हजारौंको संख्यामा ‘डिप्लाई’ गर्छ । मधेसमा हजारौंको संख्यामा शिक्षक किन ‘डिप्लाई’ गर्दैन ? यो सरकारसँग प्रहरी, सेना नियुक्तिका लागि पैसा छ । शिक्षक नियुक्तिका लागि, डाक्टर नियुक्तिका लागि इन्जिनियर नियुक्तिका लागि पैसा छैन’, सिंहले भने, ‘मधेसलाई पछाडि पार्ने, गरिब बनाउने र जब केही भयो भने गोली ठोक्ने यो अन्त्य हुनुपर्छ । यसमा मेरो आपत्ति छ । मधेसले धेरै सहन सक्दैन ।’

सिंहले मधेस क्षेत्रमा सामाजिक सदभाव कायम गर्न अपिल गर्दै मुलुकको आजको आवश्यकता समुदायबीच नभई गरिबी र पछौटेपनसँग लड्नुपर्ने स्पष्ट गरे । ‘आजको आवश्यकता सामाजिक सदभावको हो । आजको आश्वकता गरिबीसँग लड्ने हो, पछौटेपनसँग लड्ने हो । समुदायबीच लड्ने होइन’, सिंले भने ।

उनले साम्प्रदायिक समस्या समाधानका लागि सर्वदलीय बैठक आह्वान गरेकामा सिंहले रास्वपा सभापति रवि लामिछानेको सराहना गरे । ढिलै भए पनि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि देशबासीलाई सम्बोधन गरेको भन्दै धन्यवाद दिए ।