काठमाण्डु– काँग्रेस सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उनका शुभचिन्तकहरू नेपाल भारतको सीमा अतिक्रमणकारी मुलुक भएको पुष्टि गर्न तल्लीन रहेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै राइले प्रधानमन्त्री र उनका समर्थक नेपालले सीमा मिचेको प्रमाण खोज्दै हिंडेको बताए । नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा उभ्याउने प्रयास भइरहेकामा उनको आपत्ति थियो ।
प्रधानमन्त्रीले दाबी गरेजस्तो नेपालकै कहीं पनि भारतीय सीमा अतिक्रमण नगरेको राईले उल्लेख गरे । नेपालले भारतको सीमा अतिक्रमण गरेको प्रमाण जुटाउने कामलाई ‘राष्ट्रिय अस्मितामाथिको धावा’ को संज्ञा दिँदै राईले उक्त क्रियाकलाप रोक्न माग गरे ।
‘म आज सदनमा उभिएर भन्छु, नेपालले छिमेकी देश भारतको कुनै पनि जमिन वा भूभाग मिचेको छैन’, राईले भने, ‘तर, सम्माननीय प्रधानमन्त्रीज्यू नेपालले भारतको जग्गा अतिक्रमण गरेको छ भनेर प्रमाणित गर्न लाग्नुभएको छ । सामाजिक सञ्जालमा उहाँका शुभचिन्तकहरूले समेत नभएका प्रमाण सिर्जना गरेर नेपाललाई सीमा अतिक्रमणकारी देश देखाउन खोज्नुभएको छ ।’
प्रधानमन्त्री र उनका समर्थकमा देशको बेइज्जत गर्दा आनन्द मान्ने प्रवृत्ति देखापरेको टिप्पणी राईको छ ।
उनले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर अभिव्यक्तिप्रति आत्मालोचित भएर माफी माग्नुपर्ने राईले बताए । प्रधानमन्त्रीले राष्ट्रिय अस्मितामाथि धावा बोल्ने गरी दिएको अभिव्यक्ति सभामुख डोलप्रसाद अर्यालले संसदको अभिलेखबाट हटाउन निर्देशन नदिएको भन्दै राईले आपत्ति जनाए ।
उनले सभामुख अर्याललाई खुट्टा नकमाई प्रधानमन्त्रीलाई जवाफका लागि उपस्थित हुन रुलिङ गर्न माग गरे । ‘हामी सभामुख महोदयको साथ चाहन्छौं। अभिभावकत्व चाहन्छौं । तपाईंको शालिनताको उच्च कदर पनि गर्छौं । रोस्ट्रममा प्रधानमन्त्रीज्यूलाई बोलाएर यस विषयमा जवाफ दिने र उहाँले राष्ट्रिय हितविपरीत बोलेका कुरामा उहाँबाट आत्मालोचना होस् भन्ने चाहन्छु’, उनले भने, ‘सभामुख महोदय, खुट्टा नकमाइकन हजुरले रूलिङ गर्नुहोस् भन्ने हामी चाहन्छौं ।’
काठमाण्डु महानगरपालिकाको मेयर हुँदा कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राख्ने प्रधानमन्त्री शाह अहिले किन र कसको स्वार्थमा मुलुकको स्वाभिमानमाथि धावा बोल्दैछन् भन्ने प्रश्न राईको थियो ।
प्रधानमन्त्रीको अभिव्यक्तिले आफ्नो ज्यान आहुती दिएर नेपालको सीमा पूर्वमा चिवा भञ्ज्याङदेखि पश्चिममा लिम्पियाधुरासम्म कायम गराउने शहीदहरूको आत्मसम्मान गिरेको टिप्पणी राईले गरे ।




प्रतिक्रिया