विश्वकप छनौट खेलमा नेपालको लगातार दोस्रो जित


काठमाण्डौ –   नेपालले मलेसियालाई पराजित गरेको छ । नेपालको उत्कृष्ट बलिङसँगै नेपालले यू– १९ विश्वकप छनोट क्रिकेटमा लगातार दोस्रो जित हात पारेको हो ।

सिंगापुर क्रिकेट क्लब, पादाङमा टस जितेको फिल्डिङ रोजेको नेपालले मलेसियालाई ५८ रनमा अलआउट गर्न सफल रह्यो ।

र, यो लक्ष्य भेट्टाउन पनि नेपालले ९.५ ओभरमा ५ विकेट गुमायो । नेपालको पहिलो विकेट सस्तैमा गुमाएको थियो । टिमको स्कोर मात्र ८ रन हुँदा ओपनर सन्दिप सुनार मात्र ६ रनमा आउट भए । पहिलो खेलमा पनि सन्दिप चलेका थिएनन् ।

आदिल खान पनि ५ रनमै आउट भए । आसिफ शेखले भने आक्रामक पारी खेल्ने प्रयास गरे । उनले २० बलमा ५ चौकाको मदतमा २३ रन बनाए । भरपर्दा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी भने फेरि सस्तैमा आउट भए । उनले मात्र ४ रन जोडे ।

अनिल साह शून्यमै आउट भए । प्रिनित थापामगर अविजित १९ र रोहित कुमार ४ रनमा अविजित रहे ।

यसअघि मलेसियाको सुुरुवात खराब रहृयो । पहिलो ओभरको पाँचौं बलमा नै किशोर महतोले पहिलो विकेट लिँदा मलेसियाले खाता समेत खोल्न सकेको थिएन ।

सैफुला मलिक र वीरदीप सिंहले दोस्रो विकेटका लागि २१ रनको साझेदारी गर्दै पारी सम्हाल्न खोजे । तर, १२ औं ओभरको चौथो बलमा नेपाली टोलीका कप्तान समेत रहेका सन्दिप लामिछानेले मलिकलाई व्यक्तिगत ८ रनमा आउट गराए ।

त्यसपछि पवन सरार्फले लगातार २ विकेट लिए भने सन्दिपले दोस्रो विकेट लिँदा मलेसियाले १३।५ ओभरमा मात्र २६ रन जोडेर महत्वपूर्ण ५ विकेट गुमाइसकेको थियो ।

त्यसपछि पनि मलेसियाका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । १० औं विकेटरका लागि हाष्कल खैर र हफिजुद्दिनले १९ रनको साझेदारी गरे । तर, २५.५ ओभरमा सन्दिपले खैरको विकेट लिएपछि मलेसिया ५८ रनमा अलआउट भयो ।

मलेसियाका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि सन्दिप एक्लैले ५ विकेट लिए । ८.५ ओभर बलिङ गरेका उनले एक मेडन राख्दै मात्र १७ रन दिए ।

पवन सरार्फले ३ विकेट लिँदा किशोर महतो र सन्दिप सुनारको नाममा १– १ विकेट रहृयो । नेपालले पहिलो खेलमा सिंगापुलाई पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement