सातौँ राष्ट्रिय खेलकुद : क्रिकेटमा एपिएफ र मध्यमाञ्चल विजयी


उर्लाबारी (मोरङ), ८ पुस । पूर्वाञ्चलमा सुरु सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा सशस्त्र प्रहरीको एपिएफ र मध्यमाञ्चल विकास क्षेत्रले विजयी सुरुआत गरेका छन् ।

मोरङको वैजनाथपुरमा भएको पहिलो खेलमा एपिएफले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई २६ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४५ रनको स्कोर तयार पारेको थियो । एपिएफका लागि सन्दीप सुनारले सर्वाधिक ५१ रन बनाएका थिए ।

त्यस्तै प्रदीप ऐरीले २९ र पारस खड्काले २६ रन बनाउन सफल भए । जवाफी ब्याटिङ गरेको मध्यपश्चिमाञ्चल विकासक्षेत्रले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा ११९ रन मात्र बनाउन सक्यो । मध्य पश्चिमाञ्चलका लागि प्रनित थापाले सर्वाधिक ४० रन तथा अनुपम सिंहले २१ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोेहोरो अङ्क बनाउन सकेनन् । एपिएफका लागि पारस खड्काले ३ विकेट लिए ।

यस्तै आजै भएको अर्को खेलमा घरेलु टिम पूर्वाञ्चल विकास क्षेत्रलाई हराउँदै मध्यमाञ्चल विकास क्षेत्रले ४ रनले विजयी भएको छ । टस जितेर ब्याटिङ गरेको मध्यमाञ्चलले पूरै २० ओभर खेलेर ९ विकेट गुमाएर १२० रनको स्कोर तयार पारेको थियो । मध्यमाञ्चलका लागि जितेन्द्रसिंह ठकुरीले ३१, असल चौधरीले २७ र रातिक खानले २१ रन बनाए ।

पूर्वाञ्चलका लागि सन्दीप ढुङगानाले २, पुष्प थापाले २, फिरदोज अन्सारीले २ तथा महबुब आलम र प्रदीप पासवानले १÷१ विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको पूर्वाञ्चलले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा ११६ रन मात्र बनाउन सक्यो । पूर्वाञ्चलका लागि पुष्प थापाले १३, मेहबुब आलमले ८, मिनेष थापाले १७, राज थापाले १२ र विवेक यादवले १३ रन बनाएका थिए । मध्यमाञ्चलका लागि हसिम अन्सारीले ३ विकेट लिए । त्यस्तै रुपेस श्रीबास्तव २ तथा रसिद खान र सुशील डङ्गोलले १÷१ विकेट लिएका थिए । प्रतियोगितामा भोलि त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र तथा नेपाल प्रहरी र पश्चिमाञ्चल विकास क्षेत्रबीच खेल हुनेछ । प्रतियोगितामा पाँच विकास क्षेत्र र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका तीन विभागीय टोली गरी ८ टिमको सहभागिता रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement