काठमाण्डु– सभामुख डोलप्रसाद अर्यालले सांसदहरुले संसदमा उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
गत २१ फागुनको निर्वाचनपछि गठित वर्तमान संसदमा सभामुख अर्यालले गरेको यो पहिलो रुलिङ हो ।
यसअघि विपक्षी दलका सांसदले सरकारका गतिविधिसँग सम्बन्धित विषयमा पटकपटक रुलिङ माग गरे पनि सभामुखले इन्कार गर्दै आएका थिए । ‘सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनुभएको छ ।
माननीय सदस्यहरूद्धारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सन्दर्भमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति नियन्त्रण एवं न्यूनीकरण गर्न, विपद् व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका कामकारबाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु’, अर्यालले भने ।
सोमबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदले सुर्खेतबाट कालिकोट जाँदै गरेको फोर्स गाडी कर्णाली नदीमा खसेर यात्रुहरु बेपत्ता भएको विषयमा सरकार बेखबर रहेको र उद्धार नगरिएको भन्दै आपत्ति जनाएका थिए ।




प्रतिक्रिया