ह्वाट्स एपबाट ‘चिट’


विराटनगर- एमबिबिएस प्रवेश परीक्षा दिन विराटनगरस्थित नोबेल मेडिकल कलेज पुगेका अधिकांश परीक्षार्थीको हातमा मोबाइल थियो। परीक्षार्थी नोबेल कलेजतर्फ जाँदै गर्दा प्रोफेसरसहित एप्सका जानकार भने एउटा कोठामा एकत्रित भइरहेका थिए।

परीक्षार्थीले प्रश्नपत्र पाएलगत्तै एप्सका जानकारहरूको मोबाइल बज्न थाल्यो। मोबाइलको ह्वाट्स एपमा कोड तोकिएको प्रश्नावली ह्वारह्वार आउन थाल्यो। यताबाट ‘वेट सी’ भन्दै एकाएक प्रश्नको जबाफ प्रोफेसरहरूले कोडमै लेखेर पठाउन थाले। काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गत पहिलो पटक विदेशी विद्यार्थीका लागि नोबेल मेडिकल कलेजमा सञ्चालित एमबिबिएस प्रवेश परीक्षामा इन्टरनेटको दुरुपयोग गर्दैै चिट चोराइएको हो।

‘मानव स्वास्थ्यसँग जोडिएको एमबिबिएस प्रवेश परीक्षामै एसएलसीमा जस्तै चिटिङ हुन थालेपछि उत्पादन हुने डाक्टरले कस्तो उपचार गर्लान्,’ प्रोपब्लिक मोरङका अध्यक्ष उत्तम ढुंगेलले भने, ‘यो त मान्छे मार्ने लाइसेन्स दिएजस्तै भयो।’

स्रोतका अनुसार बिहीबार भएको एमबिबिएस प्रवेश परीक्षामा व्यापक चिटिङ भएको थियो। परीक्षार्थीको सहयोगका लागि कलेजले परीक्षा हलमै वाइफाइसमेत व्यवस्था गरेको थियो। प्रवेश परीक्षााको नतिजा शुक्रबार प्रकाशित गरिएको छ। यसअघि केयुले काठमाडौंमै एमबिबिएस प्रवेश परीक्षा लिएर मेरिटका आधारमा प्राथमिक र वैकल्पिक सूची प्रकाशति गरी आफूअन्तर्गतका मेडिकल कलेजमा भर्नाका लागि पठाउँथ्यो। यसपटक भने नोबेल मेडिकल कलेजलाई प्रवेश परीक्षा सञ्चालनको जिम्मा दिएर केयूले अनियमितता गरेको स्रोतको दाबी छ। एमबिबिएसका लागि केयूले लिएको यो दोस्रो प्रवेश परीक्षा हो। एमबिबिएसमा भर्नाका लागि केयूअन्तर्गतका नोबेल मेडिकल कलेजलाई १ सय १५ र विराट मेडिकल कलेजलाई ७५ सिट तोकिएको छ।

विश्वविद्यालयले पहिलोपटक लिएको प्रवेश परीक्षामा पास भएका विद्यार्थी कलेजमा भर्ना हुन नगएपछि अग्रिम सिट बुक गराइएकालाई पास गराउन दोस्रोपटक परीक्षा लिइएको स्रोतको भनाइ छ। नागरिकबाट साभार

प्रतिक्रिया दिनुहोस
Advertisement