३३ केजी सुन तस्करीका मुख्य नाइके गोरे सार्वजनिक,आजै जिल्ला अदालत मोरङमा पेश गरिने


काठमाडौं – शनम शाक्य हत्या प्रकरणसँगै साढे ३३ केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उपे्रतीलाई आज सार्वजनिक गरिएको छ ।

गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत गृहमन्त्रालयका सहसचिव सनम हत्या प्रकरण छानविन गर्न गठित टोलीका संयोजक ईश्वर पौडेलले लामो अनुसनधानपछि गोरे प्रक्राउ गर्न सफल भएको वताए। गोरेलाई सार्वजनिक गरेलगत्तै मोरङ जिल्ला अदालतमा पेश गर्न पठाइने भएको छ।

उनले आज बिहान साढे ५ बजे काठमाडौंको गौरीघाटबाट गोरेलाई पक्राउ गरिएको जानकारी दिए। यद्यपि प्रहरी स्रोतले यसअघि गोरेलाई भारतबाट पक्राउ गरेर ल्याइएको जनाएको थियो। उनको समूहले त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट ५ वर्षदेखि सुन तस्करी गर्दै आएको थियो। विमानस्थलमा एयरलाइन्सका कर्मचारी र प्रहरीसँग सेटिङ मिलाएर गोरेले सुन तस्करी गर्दै आएका थिए। उनीहरुमाथि सन् २०१५ देखि हालसम्म १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० रुपैयाँ १३ पैसा मूल्यबराबरको ३७ लाख ९९ हजार ५५९ ग्राम सुनको अवैध कारोबार गरेको भनेर बिगोसहितको अभियोग दर्ता भएको छ ।

आपराधिक समूह स्थापना, सञ्चालन गरी सुनचाँदी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्यज्यानसम्बन्धी उनीहरुमाथि छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको छ । छ जना पूर्व तथा वर्तमान प्रहरी पदाधिकारीमाथि सुनचाँदीको अवैध कारोवार सम्बन्धमा, छ जनामाथि ज्यान मुद्दा, १३ जना विमानका कर्मचारी र तीन जना सुन व्यापारी गरी २९ जनामाथि मुद्दा दर्ता गरिएको हो ।

गत माघ ७ गते दुवईबाट तस्करहरुले ल्याएको साढे ३३ किलो सुन त्रिभुवन विमानस्थल काठमाडौँबाट हराएको थियो । हराएको सो सुन बेपत्ता पारेको भनेर तस्कर समूहमाथि मोरङको उर्लाबारी बस्ने सनम शाक्यलाई अपहरण गरी हत्या गरेको आरोप छ । घटनापछि गोरे फरार थिए । उनी पक्राउ परेसँगै हराएको भनिएको सुनबारे पनि थप खुल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement