३८ क्विन्टल सुन प्रकरण : चार वर्षपछि अन्तिम सुनुवाई सुरु


काठमाण्डु – ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण मुद्धामा आज अन्तिम सुनुवाई हुँदैछ ।

करिब चार वर्षअघि दर्ता भएको शाक्य हत्या तथा सुन तस्करीसँग सम्बन्धित मुद्दाको अन्तिम बहस जिल्ला अदालत मोरङमा न्यायाधीश भरत लम्सालको इजलासमा आजबाट अन्तिम बहस सुरु हुने भएको हो ।

तस्करीको साढे ३३ किलो सुन गायब भएपछि तस्करको समूहको यातनाका क्रममा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका १ मा शाक्यको मृत्यु भएको थियो । हत्या अनुसन्धानका क्रममा सुन तस्करीको र्‍याकेट पत्ता लागेको थियो ।

आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान गरेर चारवटा शीर्षकमा २०७५ वैशाख १९ गते उच्च पदस्थ प्रहरीसहित ६३ जना विरुद्ध मुद्दा दायर भएको थियो ।

दुईपटक पुरक अभियोग मार्फत ७७ जनालाई प्रतिवादी बनाइएको छ । सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको करिब ३८ क्वीन्टल सुन अवैध रुपमा नेपाल ल्याइएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement