काठमाण्डु– एमाले नेता प्रदीप ज्ञवालीले मुलुक अलोकतान्त्रिक खोँचतिर धकेलिंदै गरेको दाबी गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत ज्ञवालीले मुलुक गम्भीर भू–राजनीतिक भूमरीतर्फ धकेलिएको अवस्थामा नेतृत्वमा रहेकाहरू बिन्दास अवस्थामा रहेको आरोप लगाए ।
।
सीमामा चिया निकासी रोकिँदा हजारौँ श्रमिक र सयौँ उद्यमीहरू सङ्कटमा परेका, दुई महिना अगाडि वर्वरतापूर्वक लखेटिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरू होल्डिङ सेन्टरहरूमा बेवारिसे जस्तै भएका, धान रोप्ने बेला मलको अभाव यथावत् रहेको, महङ्गी भयावह बनिरहेको जस्ता विषयमा प्रधानमन्त्री बेखबर रहेर जिस्किँदै हिंडेको ज्ञवालीले उल्लेख गरेका छन् ।
भैतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको विवादास्पद अभिव्यक्तितर्फ संकेत गर्दै उनले प्रधानमन्त्रीको ‘देश बनाउने टोलीबाट व्यवसायीका खुट्टा भाँच्ने धम्की आएको, तथा गरिखानेहरूको ट्याम्पो भीरबाट गुडाइदिएर ठूलै शत्रुमाथि ‘सर गरेको’ आत्मरतिमा सरकार रमाइरहेको आरोप उनले लगाए ।
‘आन्तरिक विषयहरूको सामना गरिरहेको बेला हाम्रो ध्यान मुख्य राष्ट्रिय मुद्दाहरूमा केन्द्रित हुनैपर्छ । हामी गम्भीर भूराजनीतिक भुँवरीतिर धकेलिँदै गइरहेका छौँ । सीमामा चिया निकासी रोकिँदा हजारौँ श्रमिक र सयौँ उद्यमीहरू सङ्कटमा पर्नुभएको छ । दुई महिना अगाडि वर्वरतापूर्वक लखेटिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरू होल्डिङ सेन्टरहरूमा वेवारिसे जस्तै हुनुभएको छ । धान रोप्ने बेला मलको अभाव यथावत् छ । महङ्गी भयावह बनिरहेको छ ।
तर यी सबै कुरामा बेखबर हाम्रा बिन्दास प्रधानमन्त्री ‘जिस्किँदै’ हुनुहुन्छ र उहाँको ‘देश बनाउने टोली’ व्यवसायीहरूका खुट्टा भाँच्ने धम्की दिँदैछ । गरिखानेहरूको ट्याम्पो भीरबाट गुडाइदिएर ठुलै शत्रुमाथि ‘सर गरेको’ आत्मरतिमा रमाइरहेको छ’, ज्ञवालीले लेखेका छन्, ‘राष्ट्रपति संस्थाको अपमान । संसदको अवमूल्यन । मतदाताहरूप्रति उपेक्षा । आफ्नै पार्टीप्रति वेवास्ता । लोकतान्त्रिक अधिकारहरूको सङ्कुचन । संवैधानिक अङ्गहरूमाथि हस्तक्षेप । राजनीतिक प्रतिशोध । राष्ट्रसेवकहरूको हुर्मत । समग्रमा, मुलुक अलोकतान्त्रिक खोँचतिर धकेलिँदै छ ।’
काँग्रेस र एमालेजस्ता दलहरु आफ्ना आन्तरिक विषयमा बहस गरिरहेको बेला यी राष्ट्रिय मुद्दाहरू र यिनीहरूप्रतिको हाम्रो दायित्व ओझेलमा नपरोस् भनेर ध्यान दिनुपर्ने बताए ।




प्रतिक्रिया