काठमाण्डु – नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ डिजाइन तथा फरक विशेषतासहितको बैंकनोट प्रचलनमा ल्याएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले साविककै आकार तथा डिजाइनमा परिमार्जित विशेषतासहितको ५० रुपैयाँ दरको नोट शुक्रबारदेखि प्रचलनमा ल्याएको हो।
नयाँ नोटमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त’ भन्ने प्रतिज्ञात्मक वाक्यांश उल्लेख गरिएको छ। नोटको अगाडिको भागमा हिमालको चित्र तथा लालीगुराँसको पानी छाप रहेको छ भने त्यसको मुनि ‘५०’ अंकित पानी छापसमेत राखिएको राष्ट्र बैंकले जनाएको छ।
नोटको तल्लो भागमा सिरिज नम्बर विसं. २०८२ उल्लेख छ भने गर्भनर प्राडा विश्वनाथ पौडेलको दस्तखत रहनेछ। नोटमा १.२ मिलिमिटर चौडा सुरक्षा धागो राखिएको छ, जसमा NRB लेखिएको छ।
नोटको पछाडिको भागमा हिँड चितुवाको चित्र तथा त्यसमाथि NEPAL RASTRA BANK लेखिएको छ। तल्लो भागमा RUPEES FIFTY र सिरिज नम्बर 2025 A.D. उल्लेख गरिएको छ।





प्रतिक्रिया